बैशाख २५, २०८२ बिहीबार

प्रथम झापा कप : उद्घाटन खेलमा आर्मी विजयी

बिर्तामोड – झापाको बिर्तामोडमा सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।

आर्मीका लागि अर्काे गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् ।

मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् ।
खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दिपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।

खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।
भोलि आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]