बैशाख २०, २०८२ शनिबार

बेलडाँगी चर्चलाई द्वन्द्वको झमेलाबाट मुक्त गर

सम्पादकीय
विभिन्न समुदायमा अन्तर धार्मिक द्वन्द हुने गरेको छ । नेपाल बाहिर धेरै त्यस प्रकारका घटना हुने गरेका छन् । भारतमा धार्मिक द्वन्द्व सधैं जसो हुने गर्छ । बेलाबखत नेपालभित्र पनि हुने गरेको छ । एउटा धार्मिक समुदाय र अर्को धार्मिक समुदायबीच द्वन्द्व हुने गरेको घटना पर्याप्त छन् । आफ्नै धार्मिक समुदायमा हदैसम्मको मेलमिलाम हुने गरेको छ । अन्तर धार्मिक समुदायमा हुने वादविवाद र द्वन्द्व स्वभाविक नै भए पनि एउटै धार्मिक समुदाय र परिवारमा हुने विवादलाई सामान्य मान्न सकिन्न । त्यसको पछिल्लो उदाहरण हो, दमक ३ बेलडाँगीको बिलिभर्स चर्च । चर्चमा भएको आन्तरिक विवादले तालावन्दी नै भएको छ ।

प्राप्त कागजात र आधार प्रमाणले बिलिभर्स चर्चको दावी बलियो छ । बिलिभर्स चर्चका अगुवाहरुले बिशाल माङमुले विश्वासीहरुमाथि ठुलो विश्वास घात गरेको आरोप लगाएका छन् । बिलिभर्स चर्चमा अब्राहम दाहाल पास्टरका रुपमा कार्यरत थिए । उनी अमेरिका गएपछि माङ्मुको प्रवेशले चर्च नै प्रभावित भएको घटनाक्रमले देखाउँछ । सत्यतथ्य के हो ? त्यसको अवश्य नै अनुसन्धान हुने नै छ । स्थानीय तहको न्यायिक समिति, अदालत जहाँबाट पनि त्यसको छिनोफानो हुने निश्चित छ । आखिर चर्च कस्को ? बिलिभर्स कै हो वा माङ्मुको हो ? चर्च विश्वासीहरुको हो । लडाई माङ्मु र बिलिभर्सबीचको हो ।

जग्गाधनीको वारेशनामा पत्रमा उल्लेख भए अनुसार जमिन बिलिभर्स चर्चलाई दिइएको छ । तत्कालिन पास्टर दाहालले दमक नगरपालिकालाई लेखेको पत्रमा पनि कुनै अर्को व्यक्तिलाई पास्टर बनाइएको, अर्को चर्चको नामाकरण गरिएको जानकारी गराएका छैनन् । अहिले चर्चभित्र बढ्दो द्वन्दप्रति दाहालले दुख व्यक्त गरेका छन् । विश्वासीहरुको सहमतिबाट नाम परिवर्तन गरेको दावी बिशाल माङ्मुले गरिरहेका छन् । दावी सत्यताका बारेमा छानविन हुनुपर्छ । बिलिभर्स चर्च परिवार र बिशाल माङ्मुबीचको द्वन्दलाई तत्काल समाधान गरेर विश्वासीहरुलाई नियमित प्रार्थना गर्ने वातावरण तयार गर्नुपर्छ । आफ्नो बलियो प्रमाण देखाउन सक्ने र विश्वासीहरुको मत जसलाई हुन्छ चर्चको स्वामित्व उसैको हुने हो । चर्चलाई द्वन्द्वको झमेलाबाट मुक्त गरी क्रिश्चियन समुदायको अनुशासन देखाउन अपरिहार्य छ ।

प्रकाशित मिति : पुष १४, २०८१ आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]