सामुदायिक विद्यालय सुधार गर्न मोहनमायाबाट सिकौं : विश्वकर्मा
उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान
बिर्तामोड । झापाको बिर्तामोड-२ मा रहेको मोहनमाया माविले उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान गर्दै आज ५७ औं वार्षिकोसव मनाएको छ । झापाको गौरवका रुपमा स्थापित सामुदायिक विद्यालय मोहनमायाले वार्षिकोत्सवको अवसरमा दाता परिवारलाई सम्मान, विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयको स्वर्ण महोत्सव, भवन निर्माणमा सहयोग गर्ने ६० जना दातालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले जानकारी दिए । सोही अवसरमा विद्यालयले कक्षा १० का ३७ जना ३.६ जिपिएदेखि माथि अंक ल्याउने विद्यार्थीहरुलाई नगद २५ सय ५ रुपैयाँसहित पुरस्कृत गरेको छ । यस्तै, कक्षा १२ का १९ जना विद्याथीहरुलाई मोहनमाया विद्या पदक २०८१ बाट पुरस्कृत गरिएको छ ।
वार्षिकोत्सवमा गोपाल कुमार रमा बस्नेत अक्षयकोष पुरस्कार २०८१ बाट ६ जना, गगांदेवी रंगलाल चिमरिया स्मृति अक्षयकोषबाट २ जना, नैनानन्द विष्णुमाया संग्रौला स्मृति अक्षयकोषबाट २ जना, रुपनारायाण पवित्रा तिवारी स्मृति अक्षयकोषबाट २ जना, चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार २०८० बाट ११ जना, सश्रुी सावित्री बस्नेत अक्षयकोक्ष पुरस्कार २०८० बाट १६ जना, राजेन्द्र संग्रौला पुरस्कारबाट कक्षा ५ का २ जना, मोहनमाया विद्या पदक (प्राविधिक तर्फ) १४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको प्रअ श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले जग्गादातालाई सम्मान र विद्यार्थीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।
यस्तै, विद्यालयका शिक्षक रोहित कुमार गिरीलाई चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार, गोपाल कुमार रमा बस्नेत अक्षयकोषबाट सौरभ न्यौपाने र सुश्री सावित्री बस्नेत अक्षयकोषबाट बद्रि प्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि विश्वकर्माले मोहनमाया माविले शैक्षिक क्षेत्रमा गरिरहेको प्रगति सम्मानयोग्य रहेको बताउनुभयो । उहाँले सबैको मेहनतबाट विद्यालयमा सुधार ल्याउन सकिने बलियो उदाहरण मोहनमायाले देखाएको बताउनु भएको छ ।
प्रमुख अतिथि विश्वकर्माले सामुदायिक विद्यालय सुधारमा सबैको योगदान अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । विद्यालयको विकासमा सधैं सहयोग गर्ने प्रतिवद्धता गर्दै उहाँले व्यवहारिक रुपमै साुमदायिक विद्यालयमा सुधार ल्याउन अपरिहार्य रहेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी मन्त्री एकराज कार्कीले विद्यालय सञ्चालनमा अभिभावकले निर्वाह गरेको योगदानप्रति धन्यवाद दिनुभयो । उहाँले निशुल्क शिक्षाको व्यवस्था गर्नलाई राज्यले ठुलो लगानी गर्नु पर्ने बताउनुभयो । अभिभावककै सहयोगले विद्यालय सञ्चालन भइरहेको भन्दै प्रदेश सरकारबाट फिल्टरसहित खानेपानीको व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मोहनमाया मावि नगरको गहना रहेको बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रमा नगरमा मात्र नभई राष्ट्रमै स्थापित भएको बताउदै विद्यार्थी संख्या अनुसारको भौतिक पूर्वाधार जरुरी रहेको धारणा राख्नुभयो । उपप्रमुख संग्रौलाले आवश्यक फर्निचर व्यवस्थापनका लागि बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवी निरौला बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नगर शिक्षा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रअ श्रेष्ठले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक प्रस्तुति समेत राखेका थिए ।
२५ सय विद्यार्थी रहेको मोहनमायामा विहानी शत्रमा समेत पठनपाठन हुने गरेको छ । सो विद्यालय एसईईमा राष्ट्रिय मापदण्ड अनुसार सामुदायिक विद्यालय तर्फ उत्कृष्ट पाँचौं र कक्षा १२ को परीक्षामा समेत कोशी प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । मोहनमायाका कक्षा १२ का विद्यार्थी नविन तिवारी ३.८८ जिपिए ल्याउँदै प्रदेश प्रथम बन्न सफल भएका थिए ।