बैशाख १९, २०८२ शुक्रबार

गौरीगञ्जमा प्रचण्ड : केराको पातमा भात खाए, ओली र देउवालाई गाली गर्दै फर्के

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले झापाको गौरीगञ्ज पुगेर केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै सरकार ढालिएको बताएका हुन् ।

उनले आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको हो, भन्दै प्रधानमन्त्री ओली देशकै सबैभन्दा जाली, झेली, कपटी, बेइमानी भएको आरोप समेत लगाउन भ्याए ।

अध्यक्ष प्रचन्डलाई गौरीगञ्ज जाने क्रममा शिवसताक्षीको झिलझिलेमा स्वागत गरिएको थियो ।
नेकपा माओवादी केन्द्र शिवसताक्षी अध्यक्ष प्रचन्डलाई खादा माला लगाइदिएर स्वागत गर्दै यहाँको विविध विषयमा जानकारी गराइएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।

झापाको गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्जस्थित कार्यकर्ताको घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका छन् ।

केराको पातमा उनले उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको दाल), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।

कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पार्टीकोे जिल्ला कमिटीले गरेको थियो ।
खाना पकाउन र खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी (राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला स्वयंसेवक) खटिएको कार्यकर्ताले जानकारी दिए ।

प्रकाशित मिति : पुष १५, २०८१ सोमबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]