बैशाख २०, २०८२ शनिबार

सत्ता बाहिर प्रचण्डको छटपटी

सम्पादकीय
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार झापाको कार्यक्रममा सहभागी भए । लामो समय कांग्रेस–एमालेको सहारामा प्रधानमन्त्री रहँदा कार्यकर्तासम्म नपुगेका प्रचण्ड अहिले देश दौडाहामा देखिन्छन् । झापाको गौरीगञ्जको अधिवेशन उद्घाटन गर्न आएका प्रचण्डले राजवंशीको घरमा खाना खाएको चर्चा भयो । झापाबासीका लागि राजवंशीको घरमा केराको पातमा खाना खाने विषय सामान्य नै हो । जमिनदार राजवंशी परिवारको घरमा खाना खाएका प्रचण्डले गौरीगञ्जमा सम्बोधन गर्दै अब भ्रष्टाचार गर्नेहरुलाई नछोड्ने धम्की दिए ।

पूर्वमा कमजोर माओवादी, त्यसमा पनि झापामा असाध्यै कमजोर रहेको माओवादीले गौरीगञ्जमा देखाएको उपस्थिति ठुलै थियो । जिल्लामा माओवादीको ठुलो भेला देखेर प्रचण्डले आफु प्रधानमन्त्रीबाट बाहिर आउनुको पीडाबारे सुनाए । गिरिबन्धु, ओम्नीको अनुसन्धान गर्ने भनेपछि आफुलाई सरकारबाट हटाएको सम्बोधनका क्रममा भने । प्रचण्ड कहिले कांग्रेसको टेको, कहिले एमालेको टेको लगाएर सरकार गए । सरकार नै अर्कैको भरोसामा गएकाले सरकारबाट बाहिरिनु अनौठो घटना थिएन । त्यो स्वभाविक नै थियो । अर्कोको भरथेगमा हिड्नेहरु जतिबेलै लढ्न सक्छन् भन्ने उदाहरण हुन्, प्रचण्ड । त्यसैले कार्यकर्तालाई झुटो बोलेर मन जित्न सकिन्न ।

कांग्रेस-एमालेले भरथेग नगर्दा भुईमा पुग्ने नेताले आफ्नो जग बलियो बनाउनुपर्छ । जनताको मत नहुने, सधैं च्याँखे थापेर प्रधानमन्त्री भइरहने प्रवृत्तिले मुलुकलाई नै कमजोर बनायो । यसैले माओवादी अब ठिक बाटोमा हिड्का लागि नेता नेतृत्वले जनताको मन जित्नुपर्छ । झुटो कुराको प्रचार गरेर जनतालाई मनमा राख्न सकिन्न । हुलाकी राजमार्ग मैलै बनाएको भन्दै प्रचार गरे । जुन प्रचारलाई माओवादीकै कार्यकर्ताहरुले विश्वास गर्न सक्दैनन् । हुलाकी सडक भन्नासाथ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको स्मरण गर्ने जनताका सामुन्ने प्रचण्डको झुट टिक्ने अवस्था छैन । यसैले देश दौडाहाले पार्टीलाई बलियो बनाउने गरी अभिव्यक्त नदिए थप कमजोर हुने अवस्था बन्न सक्छ । यस तर्फ माओवादीका अन्य नेता कार्यकर्ताहरु संवेदनशिल बन्नुपर्छ । सत्तामा हुँदा केही नदेख्ने, सत्ता बाहिर हुनासाथ सबै देख्नु ठुलो छटपटी हो ।

प्रकाशित मिति : पुष १६, २०८१ मंगलबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]