नव युवा क्लबको अध्यक्षमा पुनः मैनाली
अर्जुनधारा । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबको अध्यक्षमा सर्वसम्मत पुनः देवेन्द्र मैनाली चयन भएका छन् । क्लबद्वारा सोमबार सामुदायिक भवनमा (कार्यालय) आयोजित आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट मैनाली पुनः अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षमा मान बहादुर बुढाथोकी, सचिवमा दिनेश भुजेल, सहसचिवमा दिपा खड्का र कोषाध्यक्षमा राजेन्द्र शाहलाई चयन गरेको छ । ३ बर्ष कार्यकाल रहने समितिको सदस्यहरुमा अर्जुन बराल, रञ्जिता शाह, जानुका निरौला र तुलसी दाहाललाई चयन गरिएको निर्वाचन समितिका संयोजक भोला परियारले जानकारी दिए ।
त्यसैगरी संयोजकमा दिपक चम्लागाई, सदस्यहरु तेजु बराल र सुष्मा शिवालाई चयन गरिएकोछ । अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्नी प्रसाद सिग्देलको प्रमुख आतिथ्य रहेको साधारणसभामा क्लबका अध्यक्ष मैनालीले संस्थाको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखा समिति संयोजक मान बहादुर बुढाथोकीले प्रस्तुत गरेका थिए ।
अध्यक्ष मैनालीको सभापतित्व र लेखा संयोजक बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सिग्देल, अर्जुनधारा नगरपालिकाका बोर्ड सदस्य भोला परियार , क्लबका सल्लाहकार सदस्यहरु केदारनाथ पराजुली , तुलसी श्रेष्ठ ,महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष निला कुमारी दाहाल, क्लबका सचिच दिनेश भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।