सदस्यहरुको विश्वास जितेर सहारा सफल भएको हो : मन्त्री कार्की
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले धमाधम एकाईगत साधारणसभा गरिरहेको छ ।
२८ औं वार्षिक साधारणसभा अन्तर्गत आज बिर्तामोडको तेस्रो एकाई साधारणसभामा गर्दै तीन जना सदस्यको परिवारलाई राहत वितरण गरिएको छ । परिवार राहत कार्यक्रम अन्तर्गत निधन भएको सदस्यको परिवारलाई राहत वितरण गरिएको अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए ।
सहाराले निधन भएका सदस्यहरु ज्ञानेन्द्र राउत, सावित्रा हुमागाई, चेतनकुमारी सिटौलाको परिवारलाई राहत वितरण गरेको हो । राउतको परिवारलाई ३ लाख र बाँकी दुई परिवारलाई एक-दुई लाख रुपैयाँका दरले वितरण गरिएको थियो । साधारणसभा कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री कार्कीले राहत वितरण गरेका थिए ।
एकाई साधारणसभाका प्रमुख अतिथि मन्त्री कार्कीले सहारा साकोसले सदस्यहरुको विश्वास जितेकै कारण सफल भएको बताएका छन् । सहकारी सफल बन्नुमा त्यसको व्यवस्थापकीय र नेतृत्वसँगै सदस्यहरुको विश्वास जित्नुपर्ने मन्त्री कार्कीको भनाई थियो । उनले सहाराले सदस्यहरुको दुखमा सधैं साथ दिने गरेको बताउँदै राष्ट्रकै गौरवको रुपमा स्थापित भएको धारणा राखेका थिए ।
सहकारी स्थापना भएपछि गाउँघरमा साहुको घर जानु नपरेको सुनाउदै उनले सहकारी सबै नागरिकको लागि अत्यावश्यक भएको बताए । मन्त्री कार्कीले गैरकानुनी ढंगबाट चलेका सहकारीहरु जोखिममा परेको, सदस्यहरुको बचत डुबाउने गरेका कारण अब सहकारी ऐन निर्माणका लागि अध्यादेश जारी भएको बताए । अध्यादेशले सहकारीलाई सहि बाटोमा लैजाने भनाई राखेका छन् ।
संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाले संस्थाको नीति तथा कार्यक्रमबारे प्रष्ट पारेका थिए । संस्थाको २८ औं वार्षिक साधारणसभाको तयारी, संस्थाको वर्तमान अवस्था र भावी योजनाबारे सुनाएका उनले सदस्यहरुलाई तत्काल सदस्य पहिचन फारम (केवाईएम) अपडेट गर्न आग्रह गरेका छन् । उक्त फारम अपडेट नगररे माघ १ गतेदेखि खाता रोक्का हुने बताए । संस्थामा वित्तीय अवस्था समेत जानकारी गराएका उपनिर्देशक निरौलाले संस्थाबाट प्रवाह भइरहेको सेवा र थप गरिएका सुविधाबारे साधारणसभामा सुचित गराए ।
संस्थाका द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनालीले अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन क्षेत्रीय समिति सदस्य दिलिप शर्मा र लेखा परीक्षण प्रतिवेदन सेवा केन्द्र उप–समिति सदस्य सोमलाल लिम्बुले प्रस्तुत गरेका थिए ।
आर्थिक बर्ष २०८०-२०८१ असार मसान्तसम्म संस्थाको पुँजी तथा दायित्व १६ अर्व ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी एक अर्व ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्व ७५ करोड ३७ लाख ६३ हजार २०८, ऋण लगानी १० अर्व ९३ करोड ९४ लाख ६१ हजार ३५८, आम्दानी एक अर्व ९१ करोड ५७ लाख ३७ हजार ४७ रुपैयाँ, खर्च १ अर्व ८० करोड ६३ लाख २१ हजार ५८१ गरेर कुल नाफा १ करोड ९ लाख १५ हजार ४६६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साकोसका सेवा केन्द्र उपसमिति संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिर्तामोड सेवा केन्द्र प्रमुख सागर ओझाले गरेका थिए ।