बिर्तामोडमा सार्वजनिक शौचालय : समितिले भेटेन जग्गा, १ करोड लगानी गर्न तयार
जग्गाका लागि सार्वजनिक सूचना जारी
बिर्तामोड । बिर्तामोडमा वर्षौदेखि उठाइएको सार्वजनिक समस्याको मुद्धा ‘सार्वजनिक शौचालय’ निर्माणका लागि जग्गा खोजी गर्न बनेको समितिले जग्गा फेला नपरेको प्रतिवेदन बुझाएको छ । दुई महिनासम्म खोजी गर्दा पनि जग्गा फेला नपरेपछि आवश्यक प्रक्रिया अघि बढाउन कार्यपालिकालाई प्रतिवेदन बुझाएको हो ।
बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष अग्नीप्रसाद पाण्डेको संयोजकत्वमा बनेको समितिले जग्गा खोजी गरेको थियो । कार्यपालिकाले पाण्डेको नेतृत्वमा सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजी गर्न बनाएको समितिले जग्गा नभेटिएको प्रतिवेदन बुझाएको छ ।
वडा नं. ५ भित्र सार्वजनिक जग्गा खोजी गर्न दिइएको म्याण्डेड अनुसार जग्गा फेला नपरेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । उनका अनुसार चारपानेसम्म जग्गा खोजी गरिएको थियो । कतै पनि जग्गा नभेटेपछि आवश्यक प्रक्रियाका लागि कार्यपालिकालाई जानकारी गराइएको उनको भनाई छ । उनले बिर्तामोड क्षेत्रका सार्वजनिक शौचालयको लागि अनुगमन नभएको बताएका छन् । विभिन्न व्यापारिक कम्प्लेक्स, पम्पहरुको शौचालय अनगमन गर्न जरुरी रहेको बताए । शौचालय चाहियो भन्ने धेरै छन्, पाण्डेले भने– जग्गा दिने कोही छैन ।
जग्गा खोजीका लागि पाण्डेको नेतृत्वमा वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, ४ का अध्यक्ष राहुल शर्मा र अमिन सन्देश दाहाल रहेको समिति बनाइएको थियो । सो समितिले मालपोत, नापीमा समेत पुगेर सार्वजनिक जग्गाको खोजी गरेको थियो । सार्वजनिक जग्गामा सडक, कुलो निर्माण भइसकेकोले जग्गा फेला नपरेको बताइएको छ ।
सडक आसपास ५० देखी १०० मिटरमा जग्गा खोजी गरिएको समितिका एक सदस्य दाहालले जानकारी दिए । उनका अनुसार समितिले जग्गा फेला पार्ने संभावना नभएपछि प्रतिवेदन बुझाइएको हो ।
सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि सघन शहरीबाट १ करोड बजेट समेत उपलब्ध गराइसकेको बुझिएको छ । समयमा जग्गा फेला नपरे बजेट नै फ्रिज हुने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
समितिले जग्गा नभेटेको प्रतिवेदन बुझाएपछि बिर्तामोड नगरपालिकाले जग्गा खोजी प्रक्रिया सुरु गरेको छ ।
सार्वजनिक शौचालय निर्माणका लागि ५ धुर जग्गा निशुल्क उपलब्ध गराउन आव्हान गर्दै प्रक्रिया अघि बढाएको हो । ५९ औं कार्यापलिका बैठकको निर्णय अनुसार निशुल्क जग्गा खोजी गर्न सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराइले जानकारी दिए ।
१५ दिने सूचना जारी गर्दै बिर्तामोड नगरपालिकाले मुख्य केन्द्र बिर्तामोड बजार पूर्व ६ नं वडा अन्तर्गत पर्ने बुट्टाबारी चौकदेखि पश्चिममा १ नं वडा अन्तर्गत चारपाने चोकसम्म राजमार्गको १०० मिटर दूरीभित्र जग्गा उपलब्ध गराउन आग्रह गरेको छ ।
सुविधायुक्त सार्वजनिक शौचालय निर्माणका लागि कम्तिमा ५ धुर जग्गा आवश्यक भएको सूचनामा उल्लेख छ । निःशुल्क जग्गा उपलब्ध गराउन इच्छुक जग्गादाताले कित्ता नं. तथा क्षेत्रफल खुलाई नगरपालिकामा निवेदन पेश गर्न भनिएको छ ।
सार्वजनिक शौचालय निर्माणका लागि नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा पर्याप्त जमिन भएका व्यक्तिहरुलाई समेत आग्रह गरेको जानकारी दिइन् । उनले शौचालय निर्माण गर्न बजेट भए पनि जग्गाको अभाव भएको बताइन् । जग्गा हुने हो भने तुरुन्तै शौचालय निर्माण गर्न सकिन्छ, उनले भनिन् ।