बैशाख २३, २०८२ मंगलबार

देवी रनको उपाधि खासेन र सिमानालाई

बिर्तामोड – झापा बिर्तामोडको देवी माविले सञ्चालन गरेको देवी रन २०८१ को उपाधि खासेन चेम्जोङ र सिमाना जवेगूले जितेका छन् ।

विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पाँच किलोमिटर दौडमा पुरुषतर्फ कक्षा १२ मा अध्ययनरत चेम्जोङ र महिलातर्फ कक्षा १२ कै जवेगू प्रथम भए ।

फाल्गुनन्द ५ पाँचथरका चेम्जोङले १६ मिनेटमा र माई १ इलामकी जवेगूले २२ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै, दौडमा पुरुषतर्फ कक्षा १० मा पढ्ने बिर्तामोड ५ का युकेश लिम्बू दोस्रो र कक्षा १२ मा पढ्ने कनकाई १ का कमल दुलाल तेस्रो भए । लिम्बूले १६ मिनेट ३९ सेकेन्ड र दुलालले १६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरे ।

त्यस्तै, महिलातर्फ कक्षा १२ मा पढ्ने सिरिजंघा ५ ताप्लेजुङकी रेखा भण्डारी दोस्रो र कक्षा १२ कै अर्जुनधारा ६ की पुनम दनुवार तेस्रो भए । भण्डारीले २३ मिनेट ३२ सेकेन्ड र दनुवारले २४ मिनेट ११ सेकेन्डमा दौड पूरा गरे ।

उपाधि विजेताले नगद सात हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै, दोस्रो हुनेले नगद छ हजार तथा तेस्रो हुनेले नगद पाँच हजार, मेडल र प्रमाणपत्र पाउने सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले बताए ।

प्रदेशसभा सदस्य चिन्तन पाठकले आज बिहान शनिश्चरे चोकमा एक कार्यक्रमबीच दौडको उद्घाटन गरेका थिए । दौडमा ५५ छात्र र १५ छात्राको सहभागिता रहेको थियो ।

भोलि विद्यालयमा आयोजना हुने ६२ औँ वार्षिकोत्सव कार्यक्रममा विजेता विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका कक्षा- ११/१२ संयोजक उमेशकुमार साहुले जानकारी दिए ।

प्रकाशित मिति : पुष १८, २०८१ बिहीबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]