बिर्तामोडको शिविरमा २१६ जनालाई नयाँ कार्ड
बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २ सय १६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ ।
गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो गरी चार प्रकारका कार्ड वितरण गरिएको हो । रातो २५ जना, निलो ९२ जना, पहेँलो ६७ जना र सेतो २८ जनालाई कार्ड वितरण गरीएको हो । थप ४ जना प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
अपाङ्गता परिचयपत्र गम्भीरताका आधारमा ४ भागमा वर्गीकृत हुने गरेको छ । ‘क’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो, ‘ख’ वर्गमा पर्नेको लागि निलो, ‘ग’ वर्गमा पर्नेको लागि पहेँलो र ‘घ’ वर्गमा पर्नेको लागि सेतो रंगमा कार्ड वितरण हुने गर्दछ ।
करुणा फाउण्डेसनसंगको सहकार्यमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गतको यस शिविरमा दशैवटा वडामा गरी ७ सय ७२ जनाले सेवा लिएका छन् ।
शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परीक्षण गरीएको थियो । उनीहरुको स्वास्थ्य उपचार मात्र नभई शारिरीक जटिलता र आवश्यकताको विषयमा समेत लगत संकलन गरिएको करुणा फाउण्डेसनले जनाएको छ ।