जेष्ठ ६, २०८२ सोमबार

याङरुपका लेखक, शिक्षक बुढाथोकी दीर्घसेवा पदकबाट विभूषित

बिर्तामोड । देवी माविका शिक्षक एवम् याङरुप उपन्यासका लेखक ज्ञानबहादुर बुढाथोकीलाई दीर्घसेवा पदकबाट विभूषित गरिएको छ । हालै सम्पन्न विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसर पारेर बुढाथोकीलाई सम्मान गरेको हो ।

देवी माविमा ५ वर्षदेखि र विभिन्न विद्यालयमा २५ वर्षदेखि शिक्षण गर्दै आएका शिक्षक बुढाथोकीलाई वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षा क्षेत्र र विद्यालयको शैक्षिक उन्नयनका लागि योगदान गरेको भन्दै विभूषित गरिएको हो ।

केही वर्षदेखि क्यान्सरको उपचार गरिरहेका शिक्षक बुढाथोकीले भर्खरै याङ्रुप नामक उपन्यास बजारमा ल्याएका छन् ।
उनले विद्यालयको सम्मानपछि भनेका छन्, ‘यो ऐतिहासिक सम्मानले मैले सम्हाली आएको पद र जिम्मेवारीको कार्यसम्पादन गर्न थप उर्जा र उत्साह अङ्कुरण भएको छ । आगामी दिनमा सर्वप्रथम आफू प्रगति पथमा लागि मैले जाने–सिकेका ज्ञान र सीपलाई छात्रछात्रा वर्गमा सहज ढङ्गले सक्षमता विकासका प्रयत्नरत रहने छु ।’

सामाजिक सञ्जालमा उनले लेखेका छन् – पाठ्यक्रमले निर्देश गरेका तर मैले नजानेका,नबुझेका, नसिकेका र प्रयोग नै नभएका विषय, सन्दर्भ र सामग्रीलाई अध्ययन, खोज, अनुसन्धान र सामग्री सङ्कलन गरी सकेसम्म नानीबाबुहरूलाई सजिलै सिक्न सक्ने विधि र प्रक्रिया अपनाई शिक्षण सिकाइ कार्य प्रभावकारी बनाउन प्रयत्नशील रहन मलाई जिम्मेवारी वोध भएको छ । आउँदा दिनहरूमा विद्यार्थीको चरित्र निर्माण, व्यक्तित्व विकास र नविनतम् ज्ञान-सीपको खोजी गरी सर्वाङ्गिण विकासमा मेरो ध्यान र मिहिनेत बढाउँदै जान सकूँ ।

सम्मानका लागि उनले प्रधानाध्यापक अम्बिका श्रेष्ठ, सहायक प्रअ लीलाप्रसाद भण्डारी, शिक्षक प्रतिनिधि उमेशकुमार शाहू लगायतलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष २१, २०८१ आईतबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]