सिम्रिकका सदस्यलाई आत्मनिर्भर बनाउन श्रृंगार तालिम
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आजदेखि पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ ।
संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
उनले पुँजी अभावकै कारण हातमा सीप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए । तसर्थ पनि तालिम सहि तबरले इच्छाशक्ति लगाएर लिन सहभागिलाई आग्रह गरे ।
तालिममा मोरङ जिल्ला सेवा केन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्यहरु सहभागी छन् । सहभागिलाई जानुका देबी प्रधान र हृदय कुमारी संग्रौलाले प्रशिक्षण दिंदै छन् । यसअघि पनि संस्थाको शिक्षा उपसमितिको आयोजनामा इलाम जिल्लाको नेपालटारमा इलाम जिल्ला अन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
त्यसैगरी संस्थाले यसअघि खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकिएको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए । शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोडमाथिको वासलात छ भने ४६ वटा सेवा केन्द्रहरु मार्फत शेयर सदस्यहरुलाई सेवा सुविधा दिईरहेको संस्थाले जनाएको छ । वित्तिय कारोबारसँगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्यसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आइटी सहायक बिजय पाण्डेले जानकारी दिए ।