बिर्तामोडका ५ हजार ८६ किसान सूचीकृत
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले तीन वर्षमा ५ हजार ८६ जना किसानलाई सूचीकृत गरेको छ । पशपन्छी तथा मत्स्य विकास शाखाले किसान सूचीकरणको काम गरिरहेको छ ।
आर्थिक वर्ष ०७८-०७९ देखि बिर्तामोडमा किसान सूचीकरणको काम सुरु गरिएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । बिर्तामोडको वडा नं. ७, ८,९ र १० मा किसान सूचीकरण सम्पन्न भइसकेको छ । वडा नं. १,४,५ र ६ बाँकी रहेको दाहालले बताइन् । उनका अनुसार २ र ३ नं. वडाका केही भागका किसान सूचीकृत भइसकेको छन् ।
बिर्तामोड नगरपालिकाको वडा नं. २, ३,४ का केही भाग र वडा नं. ६, ७,८,९, १० नागरिक कृषिमा आवद्ध छन् । पशुपन्छी शाखाले कृषि बाली, पशुपन्छी, घाँसबाली तथा मत्स्य पालन र मिश्रित खेतीमा किसानलाई सूचीकरण गरिएको छ । शाखा अधिकृत दाहालले सूचीकरणको कामलाई निरन्तरता दिने बताइन् । उनले सूचीकरणपछि किसानको वर्गीकरणका आधारमा कार्ड समेत उपलब्ध गराइने जानकारी दिइन् ।
झापामा अर्जुनधारा नगरपालिका र बिर्तामोडले किसानको सूचीकरण गर्दै आएको छ । किसानको परिचय कार्ड वितरणका लागि बजेट समेत व्यवस्था गरिसकेको बुझिएको छ ।
किसानलाई सूचीकृत गरी किसान परिचयपत्रका आधारमा अनुदान सेवा, सुविधा उपलब्ध गराउने योजना भए अनुसार सूचीकृत प्रक्रिया अघि बढाएको थियो । कृषि गणना–०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७ सय ८९ किसान परिवार छन् । ती परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषि गर्दै आएका छन् । त्यही आधारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकृतको काम अगाडि बढाएको थियो ।
समग्र कृषि विकासलाई डिजिटल कृषि पद्धतिको रुपमा विकास गर्न, कृषि सुशासन प्रवद्र्धन गर्न र खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ को व्यवस्थाअनुरुप काम गर्न किसान सूचीकरण गरिएको हो ।
किसान सूचिकरण भएसँगै कुन किसान हो र कसले अनुदान पाउनुपर्ने हो भन्ने कुरा छुट्याउन सहज हुने बताइएको छ ।