मैले बोल्न पाइनँ भन्ने भाष्यको अन्त्य भयो : ढुङगेल
काठमाडौं । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले यस पटकको पार्टी केन्द्रीय कमिटी बैठकमा मैले बाल्न पाइनँ भन्ने भाष्यको अन्त्य भएको बताउनुभएको छ ।
आइतबारबाट जारी पार्टी केन्द्रीय कमिटी बैठकमा मस्त छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरूले खुलस्त रूपमा आफ्ना कुरा राख्नु भएको ढुङ्गेलले बताउनुभयो । ‘केन्द्रीय सदस्यहरू, पोलिटब्युरो लगायतका नेताहरूले आफ्ना बिचार राख्नु खुल्ला रूपमा राख्नु भएको छ’, ढुङ्गेलले भन्नुभयो ।
२ पार्टीको उच्च नेतृत्व बिच औपचारिक अनौपचारिक छलफल र अन्तर संवाद निरन्तर हुनु पर्ने बताउँदै ढुङ्गेलले नेतृत्वको मौनता तोडी पार्टीमा बलियो आन्तरिक एकताको सन्देश प्रवाह गर्न बैठक सफल हुने विश्वास व्यक्त गर्नुभयो । ‘यस बैठकमा मस्त बोल्नु पर्छ र बोल्न पाइएन भन्ने भाष्यको अन्य गरिनु पर्छ’, उहाँले भन्नुभयो ।
बैठकले पार्टीको मूल नेतृत्व र पार्टीमाथिको साइबर आक्रमणको प्रतिवाद गर्ने योजना र सङ्कल्प गर्नुपर्ने पनि उहाँको धारणा छ । सरकारले गरेका महत्त्वपूर्ण कामको सूची तयार पारी पार्टीको सिङ्गो पङ्क्तिले बोक्ने प्रचार र प्रभावको अगुवाइ गर्ने सङ्कल्प बैठकले गर्नुपर्ने उहाँले बताउनुभयो ।
पार्टी र नेतृत्व माथि लगाइएका अनर्गल आरोपहरूको तथ्य परक खण्डन गरिनु पर्नेमा उहाँले जोड दिनुभयो । यसको लागि सामाग्री नै तयार पारी जरा तहसम्म पार्टी पङ्क्ति मार्फत प्रष्ट पारिनु पर्ने ढुङ्गेलले बताउनुभयो ।
त्यस्तै पार्टी सदस्यको अनलाइन अभिलेखीकरणको सङ्कल्प गरेर सोही अनुसारको काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।