बाह्रदशीबासीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउदै गाउँपालिका
बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले विरामीहरुका लागि नि:शुल्क अक्सिजन मेसिन उपलब्ध गराउदै आएको छ । कोभिडपछि गाउँपालिकाले बाह्रदशीका बासिन्दालाई लक्षित गरेर उक्त सेवा उपलब्ध गराइरहेको गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले जानकारी दिए ।
कोभिडको समयमा गाउँपालिकाले ५ थान अक्सिजन उत्पादन गर्ने इलेक्ट्रिक मेसिन ल्याएको थियो । सो मेसिनलाई कोभिडपछि निरन्तर रुपमा अक्सिजन आवश्यक पर्ने विरामीहरुका लागि उपलब्ध गराइरहेको अध्यक्ष चम्लागाईको भनाई छ ।
उनका अनुसार कुनै पनि विरामी परिवारले सम्पर्क गरेको खण्डमा निशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने गरिएको छ । अक्सिजनको अभावले कसैलाई पनि दुख नहोस् भन्ने उद्देश्यले अक्सिजन उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको अध्यक्ष चम्लागाईले जानकारी दिए ।
दम, निमोनिया लगायत विभिन्न स्वास्थ्य समस्या भएका विरामीहरुलाई आवश्यक परेको खण्डमा उक्त मेसिन उपलब्ध गराइरहेको स्वास्थ्य शाखा प्रमुख राम शाहले जानकारी दिए । अस्पताल जानु पर्ने विरामीहरु अस्पताल जानु हुन्छ, उपचारपछि पनि आवश्यक पर्ने विरामीहरुले घरमै लगेर प्रयोग गर्न सक्नुहुन्छ, शाहले भने । विरामीहरुले १५ दिन, १ महिनासम्म प्रयोग गरेर फिर्ता गर्ने गरेको उनको भनाई छ । मेसिनको प्रयोग बारे गाउँपालिकाको स्वास्थ्य शाखाले नै सहजीकरण गर्दै आएको छ ।
गाउँपालिकासँग प्रतिघण्टा ५ लिटर र ८ लिटर अक्सिजन उत्पादन ५ थान मेसिन उपलब्ध रहेको बताइएको छ । उक्त मेसिनहरु स्वास्थ्य संस्थाहरुमा राखिएको छ ।