बैशाख २३, २०८२ मंगलबार

सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ

झापा, २३ पुस – सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहुनभएको छ ।

दश वर्ष मलेसियामा बसेर फर्कनुभएका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिनुभएको छ ।

उहाँले तीन वर्षअघि रु पाँच लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गर्नुभएको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उहाँले बताउनुभयो ।

“सीप र पुँजी छभने मान्छे भोकले मर्दैन”, उहाँ भन्नुहुन्छ, “आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।” उहाँले पाँचलाई रोजगारी प्रदान गरेको बताउनुभयो । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उहाँले बताउनुभयो । स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुनः एकीकरण (रेमी) परियोजनामार्फत उहाँको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिनुभयो ।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।

प्रकाशित मिति : पुष २३, २०८१ मंगलबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]