बैशाख २०, २०८२ शनिबार

यात्रुले भाडादर देख्न पाउन्

सम्पादकीय
पहाडी क्षेत्रका सार्वजनिक यातायातमा यात्रा गर्दा हरेक यात्रुलाई भाडादरका बारेमा जानकारी हुन्छ । कहाँ देखि कहाँ जाँदा कति भाडा तिर्नुपर्छ प्रायः यात्रुहरुलाई थाहा हुन्छ । थाहा हुनुको कारण भाडादरमा एकरुपता हो । भाडादरमा एकरुपतासँगै सार्वजनिक यातायातमा भाडादर राखिएको हुन्छ । सबै यात्रुहरुले भाडाको सुची सहजै हेर्न सक्छन् । जसका कारण यात्रुले बढी भाडा बुझाउनु पर्दैन र कोही ठगिनु पनि पर्दैन । हरेक यात्रुले भाडादर देख्ने गरी सार्वजनिक गर्ने हो भने यात्रु र सवारी कर्मचारीबीच विवाद पनि हुदैन । भाडादर सार्वजनिक नगरी उठाउने गलत नियमले विवाद हुने गरेको छ ।

झापामा सञ्चालित सार्वजनिक यातायातहरुमा भाडादर राखिएको पाइदैन । यहाँ यात्रुहरु सवारीका कर्मचारीले भनेकै आधारमा भाडा बुझाउन बाध्य हुन्छन् । यात्रुहरुले मनमरी भाडा माग्ने गरेको गुनासो समेत गर्ने गरेका छन् । सार्वजनिक यातायातको भाडादर सोमवारबाटै लागु हुने गरी वृद्धि गरिएको छ । भाडादर वृद्धि भएपछि तोकिएको शुल्क यातायातभित्र सार्वजनिक गर्नुपर्छ । भाडादरको तालिका नै राखेर यात्रुहरुलाई जानकारी दिन जरुरी छ । त्यसका लागि यातायात व्यवसायी तयार हुनुपर्छ भने ट्राफिक प्रहरीले प्रभावकारी अनुगमन गर्न सक्नुपर्छ । ट्राफिक प्रहरीले अनुगमन गर्ने हो भने यातायात व्यवसायीहरु भाडादर राख्न बाध्य समेत हुने छन् ।

सोमवारदेखि २५ किलोमिटरभन्दा बढी दूरी भएका रुटको भाडादर वृद्धि भएको हो । दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारीमा पनि ३.३० प्रतिशत भाडा वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको छ । डिलक्सले २० प्रतिशत बढी भाडा लिन पाउने र यात्रुवाहक बस, मिनिबसले प्रतिकिमि प्रतिव्यक्ति २.९३ रुपैयाँ कायम गरिएको छ । यसरी वृद्धि भएको भाडादरका सन्दर्भमा आम यात्रुहरुलाई जानकारी हुने गरी भाडा सार्वजनिक गर्नुपर्छ । सबै यात्रुहरुले तोकिएको भाडा तिर्नुपर्छ भने बढी भाडा लिनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

प्रकाशित मिति : पुष २४, २०८१ बुधबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]