मिक्लाजुङ गाउँपालिका अध्यक्षसँगै सिकार गएका युवकको शंकास्पद मृत्यु
विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षसँग सिकार खेल्न गएका गएका एक युवकको शंकास्पद मृत्यु भएको छ । उक्त घटनापछि मृतकका परिवार विस्थापित भएका छन् । गत मंसिर २१ गते गाउँपालिका अध्यक्ष अमर माखिमसँग स्थानीय युवा तेजबहादुर थेगिम सिकार खेल्न गएका थिए । २५ वर्षीय तेजबहादुरको शंकास्पद मृत्यु भएको परिवारले जनाएको छ ।
उजुरी दर्ता नगर्न माओवादीका स्थानीय नेता कार्यकर्ताले थेगिम परिवारलाई दबाब दिएका कारण घटना एक महिनासम्म गुपचुप राखिएको थियो । अध्यक्ष अमर माओवादीबाट निर्वाचित भएका हुन् । उजुरी दिएलगत्तै मृतकका परिवार मिक्लाजुङ-७ लिम्बाबाट विस्थापित भएर झापा झरेका छन् । गाउँमा भएका तेजबहादुरका बुवा र पत्नी जाहेरी दिएपछि गाउँबाट हिँडेको छिमेकीले बताए । अहिले घरमा ताला लागेको छ ।
शंकास्पद मृत्यु भएका तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मङ्गलबारे ट्रमा सेन्टरमा पोस्टमार्टम गरी र अन्त्येष्टि गरिएको थियो ।
घटनाबारे के भन्छ प्रहरी ?
सिकार खेल्न गएका तेजबहादुरको मृत्युका विषयमा आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले घटना भएको दिन नै उर्लाबारी प्रहरीमा उजुरी परेको बताए । उनले भवितव्यमा ज्यान गएको भन्दै उजुरी परेको जानकारी दिए ।
दाहाललेसँग भने, ‘पोस्टमार्टम रिपोर्ट हेर्दा भवितव्यमा परेर ज्यान गएको हुन सक्ने देखिएको छ । थप के भएको हो हामी अनुसन्धान गरिरहेका छौं ।’
अनुसन्धानका लागि पाँचथर पुगेका उनले परिवार के कति कारणले विस्थापित भयो भन्ने बारेमा अझै नखुलेको बताए । उनले थपे, ‘हामीले तीन दिनदेखि परिवारलाई बोलाइरहेका छौं । उहाँहरू आउनु भएको छैन । सुरक्षा चाहिएको हो भने प्रहरीमा आउनु पर्यो ।’ उनले पोस्टमार्टम रिपोर्टले इन्जोर्ड भएर ज्यान गएको देखाएको बताए ।
‘गन सटले मृत्यु भएको भन्ने केही मान्छेहरूले दाबी गरेका छन् । यो विषय पोष्टमार्टमले देखाएको छैन’, दाहालले भने ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले घटनाका विषयमा सूक्ष्मरूपमा अनुसन्धान भइरहेको बताए । सिकार खेल्न गएका ७ जनाभन्दा बढीलाई अनुसन्धानका लागि पक्राउ गरिएको कोइरालाले नेपाल प्रेससँग भने । उनका अनुसार शव बोक्न प्रयोग भएको गाडीका चालक र आफन्तलाई पनि सोधपुछका लागि बोलाइएको छ ।
सीडीओ कोइरालाले भने, ‘प्रमाण नष्ट भइसकेपछि प्रहरीमा जानकारी आएको छ । अहिले फोटोबाहेक केही छैन । हामी घटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ ।’
‘उजुरी लिन प्रहरीले मानेन भन्नु हुन्छ । मैले नै उजुरीका लागि भनेको हो । अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव हुन्न परिवारलाई ढुक्क हुन आग्रह गर्छौं’, उनले भने । तेजबहादुरको मृत्युको घटना माओवादीको दबाबमा सामसुम पार्न खोजिएको आफन्तले बताइरहेका छन् ।
(नेपाल प्रेसमा प्रकाशित समाचार सुमन पुरीले लेखेका छन् ।)