कचनकवलका लेखा अधिकृतलाई लक्ष्मी माविका शिक्षक बुढाथोकीको धम्की
भद्रपुर । झापाको दक्षिणी पालिका कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोबिन्द रिजालविरुद्ध पटक-पटक धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको छ । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले लेखा अधिकृत रिजालप्रति लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।
शिक्षक बुढाथोकीले फेसबुकमा लेखेका थिए, “भोली शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृत ज्यू” साथै उनले “अझै १० बज्न समय रहेछ, लेखा अधिकृत गोबिन्द रिजाल ज्यू, तर अब के गर्छौ ? म त पागल हो,” जस्ता अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए ।
लेखा अधिकृत रिजालले धम्कीपूर्ण अभिव्यक्तिका कारण आफूले कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन् । उनले शिक्षकहरूको तलब ढिलाइको विषय प्राविधिक कारणले भएको स्पष्ट गरे। उनका अनुसार, कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म नहुँदा प्रशासनिक काम प्रभावित भएको थियो । प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल आएपछि हस्ताक्षर परिवर्तन गरी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) पठाउनुपर्ने प्रक्रियाका कारण तलब वितरण ढिला भएको प्रतिक्रिया दिए ।
बुधबार गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी, उपाध्यक्ष नवराज भट्टराई र वडा नं. ६ का अध्यक्ष चिन्तामणी खरेलको पहलमा शिक्षक बुढाथोकी र लेखा अधिकृत रिजालबीच आपसी समझदारी गराइएको छ । शिक्षक बुढाथोकीले रिजालसँग माफी मागेका छन् ।
फेसबुकमा बुढाथोकीले यस्तो लेखे
“साइबरको प्रयोग गरी सचेत व्यक्तिले समेत उत्तेजित आवेगमा आएर सामाजिक सञ्जालमा खेलिने जुहारीकै कारण आफ्नै संस्थाको क्षमतावान मात्र नभई कर्तव्यनिष्ठ पूर्व प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसँगको फेसबुके जुहारीले असल मनसायका साथ गरिएको लक्षित कुनै पनि प्रहारले न केवल मनोबल गिराउँछ, तर गहिरो पीडा पनि पु¥याउँछ ।
वास्तविकता बुझ्न आमनेसामने बसेर मन्थनमा सहभागी भएका सबै वर्ग र तहलाई धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव र लेखा अधिकृत गोबिन्द रिजाल गुरुप्रति परेको चोटका लागि पुनः क्षमा चाहान्छु ।” बुढाथोकी लक्ष्मी माविका शिक्षक हुन् ।