सहकारी संघमा जनविश्वासलाई गुम्न नदिने नेतृत्वको खाँचो
सम्पादकीय
झापा जिल्ला सहकारी संघ यतिबेला नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा छ । अर्थात् संघले आगामी फागुन ३ गते हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सहकारीका विषयमा देशव्यापी रूपमा नयाँ बहस सिर्जना भइरहेका बेला झापा जिल्ला सहकारी संघको निर्वाचन आउन लागेको हो ।
प्रारम्भीक सहकारी संस्थाको छाता संस्थाका रूपमा जिल्ला सहकारी संघलाई लिने गरिएको छ । मूलत सहकारी अभियानको नेतृत्व पनि जिल्ला सहकारी संघले गर्छ । सहकारी अभियानसँग जोडिने हरेक गतिविधि, क्रियाकलाप र सरोकारका विषयमा जिल्ला संघको भूमिकालाई अर्थपूर्ण रूपमा हेर्ने गरिन्छ । यसकारण पनि संघको निर्वाचन आम सहकारीकर्मीका लागि चासो र सरोकारको विषय हो ।
हिजोका दिनमा जिल्ला सहकारी संघको भूमिका जुन किसिमको थियो, आज त्यस प्रकारको भूमिका देखिएको छैन भन्नेमा सहकारीकर्मी सहमत प्राय छन् । यसका पछाडि अनेक कारण छन् । ती कारणहरूको समीक्षा गर्ने बेला पनि भएको छ । सहकारीमा जुन किसिमको सङ्कट देखिएको थियो, अथवा सहकारी विरुद्ध जुन किसिमको भ्रम फैलाइएको थियो, त्यसका विषयमा जिल्ला संघले साझा धारणा बनाएर त्यसलाई चिर्ने प्रयत्न एक हदसम्म नगरेको पनि होइन । तर, त्यसलाई प्रभावकारी बनाउँदै सहकारी अभियानलाई थप विश्वसनीय, बलियो र परिणाममुखी बनाउने सन्दर्भमा भने जिल्ला संघले अपेक्षित गति लिन नसकेको विषय छर्लङ्ग छ ।
सहकारी अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्ने छाता संस्थाका रूपमा हेरिएको संघमा नयाँ नेतृत्वको बहस भइरहँदा अघिल्तिर थुप्रै किसिमका चुनौति छन् । मूलत सहकारीप्रतिको जनविश्वासलाई गुम्न नदिने गरी अबको नेतृत्व स्थापित हुनुपर्छ भन्नेमा कुनै दुविधा छैन । प्रारम्भिक सहकारी संस्थाको नेतृत्वमा स्थापित भएका, सहकारी अभियानलाई बुझ्न र बुझाउन सक्ने र व्यावसायिक, सृजनशील सीप तथा क्षमता भएका सहकारीकर्मीलाई संघको नेतृत्वमा स्थापित गर्न सकियो भने अहिले देखापरेका थुप्रै किसिमका चुनौती सामना हुन सक्छन् । मूलत सहकारी अभियानप्रति दृढ इच्छाशक्ति भएका सहकारीकर्मीले मात्रै संघको भूमिका, गौरव र गरिमालाई थप फराकिलो बनाउँदै लैजान सक्छन् ।