कारोबारका हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशकै छैठौं
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला बिहीवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल (भानु) को अध्यक्षतामा तथा झापा जिल्ला सहकारी संंघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण भेला सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कारोबारको हिसाबमा हाम्रो नेपाल कोशी प्रदेशमा छैठौं ठूलो रहेको बताउनुभयो । “बचतको तुलनामा ऋण लगानी धेरै गर्ने पनि हाम्रो नेपाल सहकारी नै हो”, उहाँले भन्नुभयो, “छोटो समयमा संस्थाले उल्लेख्य प्रगति गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०८०–०८१ मा बचत निक्षेप १ अर्ब ३५ करोड ९३ लाख २६ हजार ७१३ रुपैयाँ १४ पैसा र लगानीमा रहेको रकम एक अर्ब ८९ करोड ९४ लाख ८४ हजार ७३७ रुपैयाँ ४६ पैसा रहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०–०८१ शेयर सदस्य ३७ हजार ९६७ रहेको संस्थाको शेयर पुँजी १८ करोड ४० लाख २९ हजार १०० रुपैयाँ रहेको छ भने संस्थाको कोष ७ करोड ७२ लाख ६५ हजार ११० रुपैयाँ ७० पैसा, बाह्रय ऋण ४८ करोड २ लाख ७० हजार ६०३ रुपैयाँ १४ पैसा, संस्थाको आबद्धता र लगानी ५४ लाख ९३ हजार ६०० रुपैयाँ गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत सुत्केरी सुविधा, नवराजशिशु सुविधा, पोषण तथा न्यानो कपडा, जन्मदिन उपहार, वैवाहिक वर्षगाँठ उपहार, बचतकर्ता मृत्यु राहत सुविधा, अग्रीम बचत सुविधा, आजीवन पेन्सन बचत सुविधा दशैं, आजीवन पेन्सन बचत सुविधा स्वास्थ्य, आजीवन पेन्सन बचत सुविधा शेयर बृद्धि, श्रद्धाञ्जली तथा समवेदना, कर्मचारी शुभकार्य उपहार लगायका कार्यक्रम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि ढकाल, बचत तथा ऋण सकहारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो । लेखा परीक्षण प्रतिवेदन चार्टर एकाउन्टेन्ट श्रीप्रसाद निरौलालले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाको सचिव विश्वेश्वरप्रसाद लामिछानेले गर्नुभएको थियो ।
झापा, इलाम र मोरङ गरेर तीन जिल्लाका २२ पालिकाका ३१ सेवा केन्द्रबाट संस्थाले सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।