उपाध्यक्ष न्यौपानेको संयोजकत्वमा पत्रकार महासंघ झापाको कार्ययोजना बनाइने
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले तीन वर्षे कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको बिहीबार बसेको पहिलो बैठकले तीन वर्षे कार्ययोजना बनाएर काम गर्ने निर्णय गरेको हो ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष सुब्रत न्यौपानेको संयोजकत्वमा कार्य योजना निर्माण समिति गठन गरेको छ । महासंघले एक महिनाको समय दिएर उपाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति बनाएको हो ।
कार्ययोजना निर्माण समितिमा महिला उपाध्यक्ष विनिता गौतम, सचिव राजु पाठक र प्रदीप परियार तथा कोषाध्यक्ष मुक्तिनाथ पौडेल सदस्य छन् ।
समितिले सरोकारवालासँग परामर्श गरी कार्ययोजना बनाउने जिम्मेवारी प्राप्त गरेको छ । बैठकले झापाका सबै स्थानीय तहमा सञ्चार सम्बन्धी कानुन बनाउन ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष गिरीले बताउनुभयो । बैठकले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने सञ्चार सम्बन्धी कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मिडिया मैत्री बनाउन खबरदारी समेत गर्ने निर्णय गरेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट बेहोरिरहेका झापाका साना ठूला लगानीका सञ्चार गृहको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने निर्णय बैठकले गरेको सचिव पाठकले बताउनुभयो ।
बैठकले आचार संहिताको पूर्णरूपमा पालना गर्न, पेशागत मर्यादा कायम राख्न, महासंघको गरिमालाई बढाउन सबै सञ्चारकर्मीलाई आग्रह गर्दै दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । विज्ञापनजन्य सामग्रीलाई समाचार नबनाउन अनुरोध गर्दै बैठकले पत्रकारिता पेशा, सञ्चारकर्मी र सञ्चारमाध्यमका विषयमा नकारात्मक सन्देश प्रवाह हुने गरी सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी नगर्न सबै सञ्चारकर्मीलाई अपिल गरेको छ ।
दर्ता गरेर मात्र सञ्चारमाध्यम सञ्चालन गर्न आग्रह गर्दै महासंघको बैठकले त्यसका लागि आवश्यक सहजीकरण गर्ने निर्णय गरेको सचिव पाठकले बताउनुभयो । बैठकले सदस्यता नवीकरणका लागि सबै सञ्चारकर्मीलाई अनुरोध गर्ने निर्णय गर्दै त्यसका लागि माघ मसान्तसम्मको समय निर्धारण गरेको छ ।