बैशाख २४, २०८२ बुधबार

झापा कपले टिकट विक्रीबाटै कमायो १४ लाख

बिर्तामोड । झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले फुटबल सञ्चालनबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । टिकट विक्रीबाट मात्रै १४ लाख ९ हजार ४ सय १४ रुपैयाँ आम्दानी गरेको विवरण सार्वजनिक गरिएको छ ।

झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।
आयोजक समितिका सचिव चेतामणि खनालका अनुसार आम्दानीतर्फ १ करोड २ लाख १२ हजार ४०४ रुपैयाँ विभिन्न दाता, टिकट बिक्री तथा प्रायोजकबाट संकलन भएको थियो ।

यसैबीच, झापा कपलाई निरन्तरता दिँदै दोस्रो संस्करण आगामी मंसिर महिना मै आयोजना हुने झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । झापा कपको पहिलो संस्करण सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।

कार्यक्रममा प्रतियोगिता संयोजक केशवराज दाहाल र झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले प्रतियोगिता सफल बनाउने सबैलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गरेका थिए ।
लिग लिडर चर्च ब्वाइज युनाइटेड झापा कपको च्याम्पियन बन्दै नगद १० लाख पाउन सफल भएको थियो । न्यू रोड टिम (एनआरटी)ले उपविजेता बन्दै ५ लाख रुपैयाँमा चित्त बुझाएको थियो ।

प्रकाशित मिति : पुष २७, २०८१ शनिबार  ७ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]