बैशाख २४, २०८२ बुधबार

झापा गोल्डकपको अध्यक्षमा चार जनाको दावेदारी

बिर्तामोड । पूर्वमै ठुलो फुटबल प्रतियोगिता आयोजना गर्दै आएको झापा गोल्डकपको चुनावी साधारणसभा एवम् अधिवशेन आजबाट सुरु हुदैछ । झापा गोल्डकपको नयाँ नेतृत्व चयन गर्ने अधिवेशन बिर्तामोडस्थित अतिथि सदनमा हुदैछ । निर्वाचन प्रक्रिया समेत सुरु हुने बुझिएको छ ।

फुटबल क्षेत्रको विकास र प्रवद्र्धनका अभियान्ता जलकुमार गुरुङको अगुवाईमा स्थापना भएको झापा गोल्डकपले कस्तो नेतृत्व पाउने छ भन्नेमा सबैको चासोको विषय बनेको छ । जलकुमार गुरुङ संस्थापक अध्यक्ष भएर सुरु गरिएको झापा गोल्डकपको चर्चित व्यवसायी होम पाण्डे, सहकारी क्षेत्रका प्रवुद्ध व्यक्तित्व सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नेतृत्व गरिसकेका छन् । गिरीपछि बिर्तामोडका व्यवसायी बिनोद बस्नेतले ०७६ फागुनदेखि नेतृत्व सम्हालेका छन् ।

गुरुङ र पाण्डेले एक-एक, गिरी र बस्नेतले दुई-दुई वटा गोल्डकप गराइसकेका छन् । यसै प्रतियोगितालाई चन्द्रगडीमा तीन वर्षअघि भद्रपुर झापा गोल्डकप आयोजना गरिएको थियो । ०८० मा झापा गोल्डकपको छैटौं संस्करण बिर्तामोडमा सम्पन्न गरिएको थियो भने यो वर्ष भद्रपुरमा दोस्रो संस्करणको तयारी भइरहेको छ ।

आज हुने अधिवेशनबाट फुटबलमा सुरुवाती चाम फर्काउने नेतृत्वको खोजी भइरहेको छ । नयाँ नेतृत्व चयनको चर्चा चलिरहँदा अध्यक्षको लाइनमा वर्तमान बरिष्ठ उपाध्यक्ष बलराम कार्की, महासचिव गजेन्द्र पौडेल, कोषाध्यक्ष केदार गिरी र सदस्य संजिव घिमिरे रहेका छन् । चारै जना आकांक्षीहरुले अध्यक्षका लागि आफूहरु सक्षम रहेको दावी गरेका छन् ।

कार्कीले आफुले गरेको योगदानका आधारमा अध्यक्षमा दावी गरेको बताएका छन् । उनले स्वभाविक रुपमा आफ्नो उम्मेदवारी हुने बताए ।

लामो समयदेखि महासचिवको जिम्मेवारीको रुपमा काम गरेका पौडेलले फुटवल क्षेत्रको विकासमा काम गर्न योग्य भएकाले आफ्नो आकांक्षा रहने बताए । उनले भने, म अध्यक्षका लागि सक्षम छु, राम्रो गोल्डकप गराउन पनि मेरो उम्मेदवारी हुनेछ । अध्यक्ष नभए झापा गोल्डकपको रिङ बाहिर रहने बताएका उनले थपे, मेरो अध्यक्षतामा जिल्लाका सबै ठाउँहरुमा झापा गोल्डकपलाई पुराउनेछु । भद्रपुरमा मात्र होइन, दमक, सुरुङा, काँकडभिट्टमा समेत गोल्डकप गराउने योजना छ ।

अर्का आकांक्षी केदार गिरीले झापा गोल्डकपको सफल नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । सफल र जिम्मेवार पूर्वक गोल्डकपलाई हाक्ने योजना बनाएका गिरीले आफ्नो कार्यकालमा डोमालाल रंगशालाको पर्खाल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् । सबै स्वदेश तथा विदेशमा बस्ने नेपाली फुटवलप्रेमीहरुको सहयोगमा पर्खाल निर्माण र गोल्डकपलाई भव्य बनाउने गिरीको योजना छ ।

फुटवलको विभिन्न कारणले घटेको चामलाई फर्काउन पनि अध्यक्षमा उम्मेद्वारी दिन लागेको गिरीको भनाई छ । सबै सदस्यहरु र फुटवल प्रेमीहरुको सूझावका आधारमा अध्यक्षको लागि तयारी गरेको बताए ।

उनले पछिल्लो समय आर्थिक मन्दीका कारण फुटवल सञ्चालन गर्न कठिनाई हुने गरेको बताए । सहयोग गर्छु भन्नेहरुबाट पनि पैसा नआएपछि गोल्डकपमा समस्या हुने गरेको गिरीको भनाई छ । कतिपय बोलेको पैसा पनि उठेन, गिरी भन्छन्– यस्ता सबै समस्याहरुको समाधानका लागि मेरो नेतृत्वले काम गर्नेछ । उनले गोल्डकपको कोषाध्यक्ष भएर पारदर्शी रुपमा काम गरेको अनुभव रहेको सुनाए ।

यस्तै, तीन कार्यकाल सदस्यको रुपमा काम गरेका संजिव घिमिरेले अध्यक्षमा दावी गरेका छन् । सबैले झापा गोल्डकपको अध्यक्ष बन्न सूझाव दिएकाले आफ्नो उम्मेदवारी रहने बताए । उनले झापाको फुटवललाई माथि उठाउन आफ्नो तर्फबाट पर्याप्त योगदान हुने बताएका छन् ।

गोल्डकपमा ५७२ जना मतदाता रहेको बुझिएको छ । गोल्डकपले सुरुआती चरणमा आजीवन सदस्य भन्दै जनही २५ हजार सदस्यता वापत उठाइएको थियो । पछि साधारण सदस्यताका लागि २१ हजार, महिलाहरुको लागि १५ हजारमा सदस्यता दिने व्यवस्था गरिएको थियो । नविकरण लागि गोल्डकपको पूर्वसन्ध्यामा ५ हजार लिने प्रचलन छ ।
गोल्डकपका महासचिव गजेन्द्र पौडेलले हाल ४० लाख भन्दा बढी रकम मौज्दात रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : पुष २९, २०८१ सोमबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]