चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभा
अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
स्थानीय बिन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवणमा संस्थाद्वारा आज आयोजित साधारणसभाले आर्थिक बर्ष ०८०- ०८१ को बार्षिक लेखापरीक्षण, प्रस्तावित नीति तथा कार्यक्रम र बजेट छलफल र अनुमोदन, विधान तथा विनिमय संशोधन प्रस्तावहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।
अर्जुनधारा नगरपालिका–४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष याम बहादुर दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापक निर कुमार मगरले आर्थिक बर्ष ०८०-०८१ को आय– व्यय प्रस्तुत गरेका थिए । प्रस्तुत अनुसार आम्दानी तर्फ व्याज आम्दानी १३ लाख ५५ हजार ४ सय ७२ रुपैयाँ, सञ्चालन आम्दानी ६९ हजार ५ सय ४९ रुपैयाँ र अन्य आम्दानी ६५ लाख ९४ हजार ९ सय ६९ रुपैयाँ र खर्चतर्फ ८० लाख ११ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै लेखा समितिको तर्फबाट सदस्य तुलसी प्रसाद खतिवडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको शेयर सदस्य संख्या ६९८ जना, शेयर पूँजी ३९ लाख ६५ हजार ३ सय रुपैयाँ, निक्षेप जम्मा दायित्व १ करोड ९ लाख ४१ हजार २ सय ५० रुपैयाँ , कर्जा लगानी १ करोड ८ लाख ३३ हजार १ सय १३ रुपैयाँ , पाउनु पर्ने हिसाब २६ लाख ३१ हजार ४ सय ७६ रुपैयाँ र नगद मौज्दात ६ लाख ४९ हजार २ सय ४ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवसरमा संस्थाका शेयर सदस्य कमल कटुवाल र असल बचत कर्ता रविलाल दनुवारलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । अध्यक्ष दाहालको सभापतित्व र सचिव मणि भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिका –४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालले गाउँटोलमा सहकारी संस्थाहरु भइरहेकोले अब बैंक जानु पर्ने झन्झट नभएको बताए । सहकारीले शेयर सदस्यहरुलाई विभिन्न प्रयोजनका लागि ऋण दिने गरेको बताए । वडा क्षेत्रभित्र रहेको सहकारी संस्थाहरुलाई सहजीकरणका लागि आफ्नो वडा कार्यालयले सहयोग गर्ने उनले आश्वस्त पारे ।
कार्यक्रममा पतञ्जलि योग समिति झापाका सदस्य महानन्द गौतम, अर्जुनधारा नगर सहकारी संस्थाका प्रतिनिधि खेम काफ्ले, महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि गंगा देवी कट्टेल, आयोजक संस्थाका सल्लाहकार संयोजक बेदप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बसोधा घिमिरेले राखेकी थिइन् । संस्थाका सदस्य देवेन्द्र मैनालीले बन्द सत्र उठेका विधान, विनियम सम्बन्धि लगायत प्रश्नहरुको बारेमा जवाफ दिएको कार्यक्रमका एक सहभागीले बताए ।