झापा गोल्डकपमा गुरुङको सन्देश – ‘फुटेर होइन, जुटेर अघि बढौं’
बिर्तामोड । झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले कसैलाई पनि होचोहेला गरेर गन्तव्यमा पुग्न नसकिने बताएका छन् । झापा गोल्डकपको साधारणसभा एवम् अधिवेशनमा बोल्दै सबै मिलेर अघि बढे मात्रै गन्तव्यमा पुग्न सकिने बताए ।
आज बिर्तामोडस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गुरुङले झापा गोल्डकप झापालीहरुको पहिचान भएको धारणा राखेका थिए । उनले सबै फुटवल पे्रमीहरुको योगदानबाट स्थापना भएको गोल्डकपप्रति सबैको माया र सहयोग हुने बताएका हुन्् । टुटेर फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने भन्दै गुरुङले मिलेर जान सूझाव दिए । नयाँ नेतृत्वका लागि उनले निर्वाचन नगरी सहमतिबाट नेतृत्व चयन गर्न आग्रह समेत गरेका छन् ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतको अध्यक्षतामा भएको साधारणसभा एवम् अधिवेशनमा झापा फुटवल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थापक सदस्यहरुको गुनासोलाई सम्मान गर्नुपर्ने, चन्दा बन्द गरेर अक्षयकोष निर्माण गरेर झापा गोल्डकपलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष बस्नेतले प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव गजेन्द्र बहादुर पौडेल र कोषाध्यक्ष केदार गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेशनमा झापा गोल्डकपको भावी योजना समावेश भएको पाइएन । विगत, वर्तमान र भविष्यलाई समेट्नुपर्ने प्रतिवेदनमा त्यस्तो नभेटिएको सदस्यहरुको प्रतिक्रिया थियो ।
प्रतिवेदनमा यो वर्ष कार्यालय सञ्चालन तर्फ १३ लाख ८७ हजार र कार्यक्रम खर्च १ करोड ५९ लाख २९ हजार देखाइएको छ ।