बैशाख २०, २०८२ शनिबार

मेयर थोप्राको पहिलो निर्णय : जसले जनधनको क्षति घटायो

सरोज भट्टराई

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दमकलको सक्रियता र प्रभावकारिताले पछिल्लो समय जनधनको क्षति कम भएको छ । ७७ स्थानमा भएका आगलागी नियन्त्रण गर्न दमकलको प्रयोग भएको थियो ।

शिवसताक्षी नगरपालिकाले स्थानीय बासिन्दाहरूको जीवनरक्षाका लागि दमकलको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफु निर्वाचत भए पश्चिात पहिलो काम नै दमकल खरिद गर्ने निर्णय गरेको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ४० स्थान र चालु आ.व. ३७ स्थानमा आगलागी नियन्त्रण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । दमकल टोलीका कमाण्डर नवराज लामिछानेका अनुसार दमकलले नगर भित्रमा नभई झापा जिल्ला र अन्य स्थानहरुमा समेत आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।

विगतमा नगरपालिकामा दमकल नुहँदा यहाँका नागरिक आगलागीबाट ज्यान गुमाउनु परेको तितो यतार्थ हामीसँग छ, शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले भने, त्यस कारण पनि नगरले नागरिकको जीउधनको सुरक्षाका लागि पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

आगलागी नियन्त्रणका लागि प्राविधिक तालिम प्राप्त टोली र अत्याधुनिक उपकरणको प्रयोगले कामलाई सहज बनाएको छ । नगरपालिकाले समय मै दमकल परिचालन गर्न सकेका कारण धेरै ठूला दुर्घटनाबाट जोगाउन सकिएको नगर प्रमुख थोप्राको भनाई छ । नगरप्रमुखका अनुसार नगरमा दमकल ल्याएपछि कसैले पनि आगलागीबाट ज्यान गुमाउनु परेको छैन भने ठूलो धनराशीको पनि क्षति भएको छैन ।

स्थानीय बासिन्दाहरूले पनि दमकल सेवाको प्रशंसा गर्दै नगरपालिका र दमकल टोलीलाई धन्यवाद दिएका छन् । समुदायमा तत्काल सहायता पुर्याएर दमकल सेवाले विश्वास जितेको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले बताए । प्रकृति प्रकोप, आगलागी, दुर्घटना लगायतका घटनाहरु रेडक्रस, प्रहरी, दमकल, एम्बुलेन्स जस्ता सेवाहरु एक अर्कामा परिपुरक भएकाले शिवसताक्षी नगरपालिकाले दमकले दिएको सेवा प्रशंसा योग्य रहेको सभापति काफ्लेको भनाई छ । उनले आपत्कालिन सेवालाई थप प्रभावकारी बनाउन दमकलका कर्मचारीहरुलाई थप तालिमको आवश्यक रहेको समेत जानकारी दिए ।

गएको पौष २० गते धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र रहेको श्रीसताक्षीधाम गोवद्र्धन गौशालाको गाई गोठमा आगलागी भएको थियो । शिवसताक्षी नगरपालिकालको दमक तुरुन्तै पुग्दा ठूलो क्षतिहुन बाट बचेको गावद्र्धन गौशालाका अध्यक्ष तथा संरक्षक आचार्य नन्दकिशार भारद्वजले जानकारी दिए । आगो लागेकोे १५ मिनेट मै शिवसताक्षी नगरपालिकाको दमकल आइपुग्यो । ठूलो क्षति हुन पाएन, भारद्वजले भने, एउटा गाईको खुट्टामा आगोले भेटायो, सामान्य चोट लाग्यो ।

गौशालामा कुटी काट्ने क्रममा विद्युत सट भई आगो लागेको थियो । पहिले नगरमा दमकल नहँुदा दमक तथा विर्तामोडबाट दमकल बोलाउनु पर्ने बाध्यता थियो । दमकल घटना स्थलमा आइपुग्दा सबै खरानी भइसक्थ्यो । अहिले त्यस्तो अवस्था नभएको भारद्वजले बताए ।

२०८१ भाद्र २ गते शिवसताक्षी ८ झिलझिले बजारमा रहेको मोहन मैनालीको घरमा आगलागी भएको थियो । जसमा समयमै दमकल आइपुग्दा घरको माथिल्लो भाग जल्दा जल्दै आगो नियन्त्रण गरियो । घर पुरै जल्नबाट बचाइएको थियो ।

शिवसताक्षीमा गाई गोठ, परालको कुन्यू, धानको कुन्यूमा बढी आगलागी भएको पाइन्छ । दमकलका चालक हरिकृष्ण घिमिरेका अनुसार छिटपुटरुपमा मात्रै घरमा आगलागी भएका छन् । दमकलका कर्मचारीहरु सँधै तैनाथ अवस्थामा रहने र आगलागी भएको सूचना पाए लगत्तै घटना स्थलमा पुग्ने गरेका छन् । नगरको दमकलले नेपालमा मात्रै होइन भारतको डाकुपाडा भन्ने स्थानमा समेत आगालागी हुँदा सेवा प्रवाह गरेको चालक घिमिरेको भनाई छ ।
२०७५ साल मंसिर ९ गते राती शिवसताक्षी –७ स्थित लालझोडामा खनालको घरमा आगलागी शिशुसहित परिवारका सबै सदस्यहरुले ज्यान गुमाउनु परेको थियो । त्यो बेला पालिकामा दमकलको सेवा उपलब्ध थिएन ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]