बैशाख २४, २०८२ बुधबार

झापा ११ चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनलमा भुटानको प्रिमियर लिग टोली ट्रान्सपोर्ट युनाइटेडलाई २–१ ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो ।

फाइनल प्रवेशका लागि झापा ११ ले माघ ५ गते भारतको सुदेवा एफसी नयाँ दिल्लीको दोस्रो सेमिफाइनलमा सामना गर्नेछ ।

झापा ११ ले सुरुवातमै अग्रता लिएको थियो । तेस्रो मिनेटमा झापा ११ का हरि मगर र १४ औँ मिनेटमा सन्तोष खत्रीले गरेको गोल नै जितका लागि निर्णायक भएको थियो ।

ट्रान्सपोर्ट युनाइटेडका लागि खेलको ६७ औँ मिनेटमा येसी गिल्सेनले सान्त्वना गोल फर्काएका थिए । झापा ११ ले खेल अवधिभर ट्रान्सपोर्ट युनाइटेडलाई दबाबमा राखेको थियो । झापा ११ का विशाल घलान प्लेयर अफ दि म्याच घोषित भए र उनले १० हजार भारतीय रुपैयाँ र ट्रफी पाए ।

ट्रान्सपोर्ट युनाइटेड भुटानको सन् २००४, २००५, २००६, २००७, २०१७ र २०१८ को लिग च्याम्पियन क्लब हो । झापा ११ एन्फा कप च्याम्पियन र मोफसलका गोल्डकपको सशक्त टिम हो । यसअघि झापा ११ ले भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल माघ ८ गते हुनेछ । प्रतियोगिताको विजेताले २० लाख र दोस्रो टोलीले १० लाख भारतीय रुपैयाँ र ट्रफी पाउनेछ ।

प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]