बैशाख २०, २०८२ शनिबार

दबाबमा राख्ने रास्वपाको दुष्प्रयास

सम्पादकीय

काठमाडौँ जिल्ला अदालत परिसरमा बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुव्र्यवहार भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकेर निस्कँदै गर्दा अधिवक्ता त्रिपाठी दुव्र्यवहारमा परे । त्रिपाठीमाथि भएको दुव्र्यवहारको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको हात रहेको विषय लगत्तै बाहिरियो । यो घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो संसदीय अभ्यास र न्यायिक निरूपण खोजिरहेको छ भन्ने देखाएको छ । मूलत कानुन व्यवसायीहरू पक्ष विपक्षमा बाँडिन्छन् । कसले कस्तो मुद्दाको पक्षमा बहस गर्ने त्यो उसको नितान्त व्यक्तिगत विषय हो । अधिवक्ता त्रिपाठी राष्ट्रिय सरोकारका मुद्दामा बहस पैरवी गर्न रुचाउँछन् । उनको बहस पैरवीले कैयौँ घटना उल्टिएका पनि छन् । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउनुपर्छ भन्ने पक्षमा अधिवक्ता त्रिपाठीको जोड थियो ।

अदालतमा कानुन व्यवसायीले गर्ने बहस पेशागत दायित्वभित्र पर्छ । त्यसका आफ्नै सीमा र मर्यादा छन् । सबैलाई कानुन व्यवसायीको चासो, बहस तर्क वितर्क मन नपर्न सक्छ । यसको अर्थ दुव्र्यवहार गरेर, आक्रमण वा धम्की दिएर उनीहरूलाई कमजोर पार्न सकिन्छ भन्ने मानसिकता राख्नु आफैँमा त्यो गम्भीर भूल हो । प्रचलित कानुनको सीमा र अधीनमा रहेर न्यायिक निरूपण खोज्ने कानुन व्यवसायीको पेशागत वैधानिक अधिकारमाथि धावा बोल्ने छुट कुनै पनि राजनीतिक दल, शक्ति वा समूहलाई हुँदैन । यस्तो मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी किन गम्भीर हुन सकेन भन्ने प्रश्न चासोको विषय छ । न्यायालयको निर्णयलाई सम्मान गर्ने अभिव्यक्ति एकातिर सार्वजनिक गर्ने र अर्कातिर बहस पैरवीमा उत्रिएका कानुन व्यवसायीको हुर्मत लिने दोहोरो चरित्र राष्ट्रिय स्वतन्त्र पार्टीले देखाएको छ ।

हुन त विज्ञप्ति निकालेर राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवक्ता त्रिपाठीमाथि दुव्र्यवहार भएको घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेको छ । तर, घटनाको सिलसिलेवर प्रकृतिले उसको संलग्नतालाई अस्वीकार गर्ने ठाउँ देखिँदैन । त्रिपाठीमाथिको दुव्र्यवहारको घटना केवल एकजना व्यक्ति वा कानुन व्यवसायी माथिको मात्रै होइन, यसले न्याय निरूपणका सबै निकायलाई आफ्नो प्रभाव र दबाबमा राख्न गरिएको दुष्प्रयासका रुपमा बुझ्न जरुरी छ ।
राजनीतिमा जनताले असल आचरण र अभ्यास खोजिरहेका छन् । पछिल्लो समय उदाएका राजनीतिक शक्तिमा देखिएको आकर्षणका पछाडि यी दुई कुराले महत्वपूर्ण अर्थ राख्छन् । तर, त्यसलाई जोगाउने सन्दर्भमा भने राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका शक्तिहरु एकपछि अर्को गर्दै आफूलाई भड्खालोमा हालिरहेका छन् ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]