बैशाख २०, २०८२ शनिबार

विवाहको उमेर नघटाऔं

सम्पादकीय

कानुनी रुपमा विवाह गर्ने उमेर पुगेपछि वैवाहिक जीवन सुरु गर्न सकिन्छ । उमेर नपुगी विवाह गर्न बन्देज छ । अझै पनि कतिपय ठाउँहरुमा उमेरको कुनै प्रवाह छैन । विवाहलाई उमेरलाई आधार नमान्नेहरुको संख्या पनि ठुलो छ । यो कानुन विपरित हुन्छ । उमेर, व्यवहारिक परिपक्वता भए जीवनलाई बुझ्न सक्नेहरुले विवाह गरेर जाँदा हुन्छ । धेरै परिवारहरुमा विवाहपछिको समय कठिन भएको घटनाहरु सुन्न पाइन्छ । परिवारमा अशान्ति हुने, विवाहपछि सँगै बस्न समेत नसक्ने अवस्थाहरु बन्ने गरेका छन् । उमेर र व्यवहारिक परिपक्वता नहुँदा परिवारहरुमा समस्या हुने गरेको छ । त्यसका लागि उमेर पुगेर मात्र हुदैन, बुझाई पनि सकारात्मक र फराकिलो बन्न जरुरी छ ।

अहिले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषय बाहिर आएको छ । त्यसलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले ध्यानाकर्षण भएको जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागेको छ । विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक परिपक्वता लगायतका दृष्टिकोणले विवाहको उमेर २० कायम गरी नीति नियम र ऐन कानुनहरू तय गरिएको हो ।

विवाहको उमेर २० लाई अब कम गर्न हुदैन । किनभने, मानसिक परिपक्वता नहुने हो भने वैवाहिक जीवनमा धेरै समस्या आउने छन् । यसैले सकिन्छ भने अझै २१, २२ गर्न ठिक हुन्छ । विवाहको उमेर २० वर्ष ठिक छ । १८ वर्षमा झार्ने कुरा बाल अधिकारको दृष्टिकोणले बेठिक हुनेछ । यस विषयलाई थप चर्चा नगरी २० वर्षलाई नै कायम गरेर जान उपयुक्त हुन्छ । अध्ययन समेत पुरा गर्न नसक्ने, ज्ञान सीप हासिल गर्न समेत नपाई विवाह गर्दा त्यसले सुखद परिणाम ल्याउदैन । त्यसैले उमेरका सन्दर्भमा थप छलफल गर्नुभन्दा विवाह गर्न तयार हुनेहरुले विवाहको बारे बुझेर तयार हुनु उत्तम हुनेछ । क्षणिक निर्णयबाट विवाहको निर्णय लिन हुदैन । विवाह जीवनको महत्वपूर्ण निर्णय हो । त्यसैले उमेरको सन्दर्भ एकातिर छ भने अर्कातिर जीवन र बुझाईहरु छन् ।

प्रकाशित मिति : माघ ६, २०८१ आईतबार  ९ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]