झापा ११ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप च्याम्पियन
बिर्तामोड । झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो।
झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० औं मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाए। सन्तोषले ७० औं मिनेटमा गोल गरेपछि झापाको जित थप सहज बन्यो । सन्तोष प्लेयर अफ दि म्याच घोषित भए।
क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४-० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५-४ को जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४-२ ले हिराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २-१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको थियो।
माघे संक्रान्ति मेला समिति जोरथाङको समन्वयमा नाम्ची जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको प्रतियोगिताको विजेता झापाले ट्रफीसहित २० लाख र चर्च ब्वाइजले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो ।