जेष्ठ १०, २०८२ शुक्रबार

क्षयरोगमुक्त पालिका बनाउन मेचीनगरमा अभियान शुरू

मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सोही अनुसार मेचीनगरले क्षयरोग मुक्त पालिका बनाउने गरी विभिन्न कार्यहरू थालेको हो ।

क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत बिहीवार मेचीनगर आधारभुत स्वास्थ्य अस्पताल वडा नं १० धुलावारीमा एआई एक्सरे प्रविधिको प्रयोग बाट नगरबासीको एक्सरे सेवा प्रदान गरेको थियो । जसमा २६७ जनाको एक्सरे गरे । त्यस्तै ३०० जनाको रगत र पिसाबको निःशुल्क जाँच गरिएको छ ।

झापा पनि क्षयरोगको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । त्यस मध्ये मेचीनगर पनि अछुतो छैन । त्यसैलाई मध्यनजर गर्दै मेचीनगरले ‘स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रमहरू अगाडि बढाएको मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । रोग पालेर होइन निको पारेर अगाडि बढ्नुपर्ने बताउँदै उनले क्षयरोग निवारणका लागि सबै लागि पर्नुपर्ने बताए ।

‘क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् । तर हामी योजना बनाएर काम गर्न लागि परिरहेका छौं ।’ उनले भने, क्षयरोग मुक्त पालिका घोषणा गर्न स्वास्थ्य शाखा र मातहतका निकायहरू कटिबद्ध भएर अगाडि बढिरहेको जनाए ।
गरिबी, बसाइँसराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती बताउँछिन् । यसले पनि अब मेचीनगरमा क्षयरोगको अन्त्य गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटा बताउँछिन् ।

उनले कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर लागि परिरहेको जनाइन् ।

सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियान थालेको छ ।

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]