लक्ष्मण स्मृति भवनको कांग्रेस नेता सिटौलाद्वारा शिलान्यास
झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आइतबार झापाको बिर्तामोडमा लक्ष्मण खड्का स्मृति भवनको शिलान्यास गर्नुभएको छ ।
सो भवन बिर्तामोड नगरपालिका – ३ को बिर्ताबजारमा बन्दै छ । झापा कांग्रेसका तत्कालीन जिल्ला सहसचिव लक्ष्मण खड्काको स्मृतिमा सो भवन बन्ने भएको हो ।
भवन निर्माणका लागि लक्ष्मण पत्नी अञ्जु , छोराछोरीद्वय आशुतोष र आइसा खड्काले एक करोड मूल्य पर्ने एक कठ्ठा जग्गा कांग्रेस बिर्तामोड नगर समितिलाई निःशुल्क उपलब्ध गराउनु भएको छ । निर्माण समिति संयोजक सजेश शिवाकोटीले भवन एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने बताउनुभयो । सभाहल सहितको दुई तले सो भवनमा बिर्तामोड कांग्रेसको पार्टी कार्यालय, अन्य भ्रातृसंघ, संगठनका कार्यालय रहनेछन् ।
भवन शिलान्यास गर्दै नेता सिटौलाले कांग्रेस आफैंले आफ्नो भवन निर्माण गर्नु पर्ने बताउनुभयो । ‘पूँजीपतिले दान दिएको जग्गा र भवन कांग्रेसले लिँदैन’ उहाँले भन्नुभयो, ‘लक्ष्मण पत्नी अञ्जुले पतिको स्मरणमा पार्टीलाई जग्गा दिनुभयो, कांग्रेस कार्यकर्ताको लगानीमा भवन बन्छ, बनाउनुपर्छ ।’
नेता सिटौलाले बिर्तामोडका प्रत्येक कांग्रेस कार्यकर्तालाई भवन निर्माणका लागि यथासक्य सहयोग गर्न आव्हानसमेत गर्नुभयो । ‘आफ्नो खर्चमा भवन बनाइयो भने अपनत्व हुन्छ, तपाईंहरु आफ्नो भवन निर्माणमा आफैं लाग्नुस्“ उहाँले भन्नुभयो,’ अञ्जुले जग्गा दिएर महान कार्य गर्नुभएको छ, भवन निर्माण गरेर लक्ष्मण र खड्का परिवारको सपना पूरा गर्ने अभिभारा ( कार्यकर्ता ) तपाईंहरुको हो ।
नेता सिटौलाले कांग्रेस झापाको जिल्ला पार्टी कार्यालय र बिर्तामोड नगर कार्यालय निर्माणको संयोग मिलेको स्मरण समेत गर्नुभयो । ‘जिल्ला पार्टी कार्यालय बनाउन सीके प्रसाईंकी पत्नी गिरिराजकुमारी प्रसाईंले जग्गा दिनुभएको थियो, बिर्तामोड नगर कार्यालय बनाउन लक्ष्मण पत्नी अञ्जुले जग्गा दिनुभएको छ’ जिल्ला पार्टी कार्यालय निर्माणको संयोजक सुधीर शिवाकोटी हुनुहुन्थ्यो, अहिले छोरा सजेश शिवाकोटी संयोजक हुनुहुन्छ ।’
उहाँ जिल्ला पार्टी कार्यालय समयमा नै बनेको र यो भवन पनि एक वर्ष भित्रै बनिसक्ने विश्वास व्यक्त गर्नुभयो । नेता सिटौलाले लक्ष्मणलाई विचारमा प्रष्ट र नम्र मानिसका रूपमा स्मरण गर्नुभयो । ‘लक्ष्मण प्रष्ट, नम्र, साह्रोगाह्रोमा सबैलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो’ सिटौलाले भन्नुभयो, – पतिले अंगालेको पार्टीलाई जग्गा दिएर अञ्जुले लक्ष्मणको पथ अनुशरण गर्नुभएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, कोशी प्रदेश सदस्य मिरा खड्का, कांग्रेस झापा सभापति देउकुमार थेवे, कोषाध्यक्ष जलकुमार गुरुङ, जिल्ला सदस्य देवीका बस्नेत, संविधानसभा सदस्य सुधीर शिवाकोटी, झापा २ का क्षेत्रीय सभापति खगेन्द्र मैनाली, झापा २ प्रदेश प्रदेश २ सभापति किरण श्रेष्ठ, बिर्तामोड सभापति भोजराज सिटौला, संगठन विभाग प्रमुख कुलप्रसाद संग्रौला, बिर्तामोड २ का वडासभापति देवीप्रसाद खरेलले लक्ष्मणलाई समन्वयकर्ताको रूपमा स्मरण गर्नुभयो । उहाँहरूले लक्ष्मणको जस्तो समन्वय गर्ने व्यक्ति नहुँदा पार्टीमा बिचलन आएको बताउनु भयो ।
वयोवृद्ध नेतृ यज्ञकुमारी सिटौलाले लक्ष्नणको सम्झनामा कविता सुनाउँदा माहोल स्तब्ध बनेको थियोे । लक्ष्मणको फोक्सो सम्बन्धी रोगका कारण २०७४ सालमा उपचारका क्रममा दिल्लीमा मृत्यु भएको थियोे । लक्ष्मणको निधन लगत्तै खड्का परिवारले पार्टीलाई एक कठ्ठा जग्गा दिने घोषणा गरेको थियो ।