विषादीयुक्त माछा भित्राउन नदिऔं
सम्पादकीय
झापामा अहिले पनि भारतीय क्षेत्रबाट विषादीयुक्त माछाको आयात रोकिएको छैन । खुला सीमाको फाइदा उठाउँदै व्यवसायीले मरेका माछा धमाधम नेपाल ल्याइरहेका छन् । सीमावर्ती बजारबाट मरेका माछा नेपाल ल्याउने र स्थानीय बजारमा बिक्री गर्ने प्रवृत्ति रोकिन सकेको छैन । खासगरी मरेका माछालाई सड्न नदिन फर्मालिन लगायतका रसायनको प्रयोग गरिएको हुन्छ । त्यस्तो रसायनको प्रयोगले माछालाई लामो समयसम्म सड्नबाट जोगाउँछ । व्यवसायीले स्थानीय उत्पादनको सट्टा बढी नाफाको लोभमा परेर उपभोक्तालाई विषादीयुक्त माछा बेचिरहेका छन् । फर्मालिन प्रयोग गरिएका माछाको बिक्री वितरण रोक्ने प्रयास नभएको पनि होइन । स्थानीय तहले बेला मौकामा भारतीय माछाको आयात रोक्ने गरी पहल र प्रयत्न पनि गरेका छन् । तर, स्थानीय सरकारको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । माछा व्यापारीले दलगत रूपमा संरक्षण प्राप्त गर्ने, बिचौलिया खटाउने र सरोकारवालालाई कन्भिन्स गर्ने र आफ्नो व्यापारलाई निरन्तरता दिने नीति लिइरहेका छन् ।
आइतबार मात्रै झापाको शिवसताक्षी नगरपालिकाले भारतबाट फर्मालिन प्रयोग गरेर आयात गरिएका मरेका माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ । शिवगञ्ज बजारमा बेच्न राखिएका माछा नगरपालिकाको अनुगमन टोलीले जफत गरी नष्ट गरेको हो । यसअघि बिर्तामोड नगरपालिकाले पनि यस्तो कदम चालेको थियो । नगरपालिका अग्रसर भएपछि बिर्तामोड क्षेत्र वरपर मरेका माछाको बिक्री वितरण रोकिएको थियो । तर, अहिले बिर्तामोड नगरपालिकाको नीति पूर्णरूपमा कार्यान्वयनमा छैन । अझै पनि व्यवसायीले भारतबाट मरेका माछा आयात गर्ने र बजारमा बिक्री गर्ने परिस्थिति कायम हुनुका पछाडि स्थानीय तहबीच देखिएको समन्वय अभाव मुख्य कारण हो । एउटा स्थानीय तहले भारतबाट माछाको आयात रोक्ने र अर्कोले देखेको नदेखै गर्ने प्रवृत्ति झापामा छ । अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा पनि व्यवसायीले जनस्वास्थ्यमाथि खेलबाड गर्दै निर्वाध रुपमा मरेका माछा बेचिरहेका छन् ।
फर्मालिन लगायतका रसायन प्रयोग गरिएका माछाको सेवनले क्यान्सर जस्तो घातक रोगको संक्रमणको शिकार हुनुपर्ने उपभोक्ताको बाध्यता ख्याल गर्ने सन्दर्भमा स्थानीय सरकारबीच मत एक्यता कायम हुन सकेको छैन । जबसम्म स्थानीय सरकारहरू भारतबाट मरेका माछाको आयात रोक्न दृढतापूर्वक उभिँदैनन्, तबसम्म निर्णय कार्यान्वयन गर्न सकिँदैन । व्यवसायी र बिचौलियाको प्रभाव र दबाब रोक्न पनि स्थानीय सरकारहरूको प्रभावकारी सक्रियता आजको आवश्यकता हो । नीति बनाउने, भाषण गर्ने र कार्यान्वयनमा लैजाने विषय अलग–अलग सन्दर्भ हुन् । यसर्थ उपभोक्ताको स्वास्थ्यमाथि भइरहेको खेलबाड रोक्न उपभोक्ता हितमा खुलेका संस्था पनि सक्रिय हुन जरुरी छ । सबैभन्दा ठूलो र अर्को महत्वपूर्ण विषय उपभोक्ताको चेतना हो । भारतबाट जथाभावी आयात गरिएका माछामा विषादी प्रयोग हुने र त्यसले स्वास्थ्यमा गम्भीर आघात पार्ने विषय उपभोक्तालाई बुझाउने मामिलामा समेत स्थानीय सरकार र उपभोक्ताको हितमा खुलेका सङ्घसंस्था सजग र चनाखो हुनुपर्छ । सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको भूमिका कमजोर देखिँदा जथाभावी रुपमा माछाको आयात भइरहेको विषयलाई समेत लुकाउन मिल्दैन । थोरबहुत नजराना लिएर मरेका माछा निर्वाध भित्र्याउन दिने सुरक्षा निकायको कार्यशैली पनि रोकिन जरुरी छ ।