दोमुखाको आम्दानी ३० प्रतिशत नगरपालिकालाई
‘गत आवमा १३ लाख, चालुमा ९ लाख बुझाइसक्यो’
बिर्तामोड । पर्यटकीय एवम् धार्मिक संस्थाहरुले हरेक वर्ष तीनै तहको सरकारसँग बजेट माग गर्ने गरेका छन् । विभिन्न संरचना निर्माण, विकास र संरक्षणका लागि पर्यटकीय एवम् धार्मिक संस्थाहरुले पालिका, प्रदेश र केन्द्र सरकारसँग बजेट प्रस्ताव गरिरहेका छन् ।
तर, झापाको दोमुखा धार्मिक पर्यटकीय संस्थाले भने पालिकालाई मासिक आम्दानी नै उपलब्ध गराउदै आएको छ । हरेक महिना आम्दानीको ३० प्रतिशत रकम शिवसताक्षी नगरपालिकालाई हस्तान्तरण गरिरहेको दोमुखाका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए । उनका अनुसार पालिकाले गरेको लगानीकै कारण आम्दानी भएकाले सो आम्दानी वापतको रकम ३० प्रतिशत स्थानीय सरकारको खातामा जम्मा गर्ने गरिएको छ ।
दोमुखाको समिति, स्थानीय राजनीतिक दल, स्थानीय सरकारसहित सर्वदलीय बैठकले आम्दानीलाई ७०-३० गर्ने सहमति बमोजिम आम्दानी बाँडफाड भइरहेको छ । ७० दोमुखा र ३० प्रतिशत पालिकालाई हुने गरिएको सहमति भएको थियो । गत आर्थिक वर्ष ०८०-८१ मा १३ लाख ३४ हजार नगरपालिकालाई आम्दानी बुझाएको दोमुखाले चालु आवमा समेत ९ लाख ३० हजार बुझाइसकेको अध्यक्ष लावतीले जानकारी दिए । उनका अनुसार गत वर्षको भन्दा यो वर्ष आम्दानी बढ्ने प्रक्षेपण गरिएको छ । यहाँको आम्दानी बढेपछि पालिकाले पाउने रकम पनि बढ्नेछ, अध्यक्ष लावतीले भने ।
दोमुखा धार्मिक तथा पर्यटकीय संस्थाले चार शिर्षकमा आम्दानी गर्दै आएको छ । अध्यक्ष लावतीका अनुसार बहुसांस्कृतिक पार्क प्रवेश शुल्क, सडक मर्मत, सरसफाई र पिकनिक टहरा प्रयोग वापत आम्दानी गरिन्छ । संस्थाले स्वीमिङ पुल र चिल्ड्रेन पार्कबाहेकको आम्दानी बाँडफाँड गरिरहेको अध्यक्ष लावतीले जानकारी दिए ।
स्वीमिङ पुल र चिल्ड्रेन पार्क सञ्चालनका लागि नगरपालिकाले ठेक्का लगाएको थियो । ठेक्का लिने कम्पनीले हालसम्म सञ्चालन गर्न सकिरहेको छैन । ठेक्का लिने कम्पनीले दुई संरचनाको संरक्षण समेत नगरेको स्थानीयको भनाई छ ।
दोमुखामा पर्यटकको आगमन वृद्धि भएसँगै आम्दानी समेत बढिरहेको छ । वर्षौ पुरोनो धार्मिक एवम् पर्यटकीय स्थलमा अहिले वनभोज खानेहरुको भीड लागिरहेको अध्यक्ष लावतीको भनाई छ । एकै दिनमा २० हजार पर्यटक आएको रेकर्ड छ, उनले भने – ८०, ९० वटासम्म पिकनिक खाने टोली आउने गरेको छ ।
शिवसताक्षीले दोमुखा विकासका लागि सडक निर्माण, प्रवेशद्वारा र इन्टरलक निर्माण गरिसकेको छ । नगर प्रमुख रोशन थोप्राले दोमुखालाई विशेष प्राथमिकता दिएको स्थानीयको भनाई छ । नगर प्रमुख थोप्राले जिम्मेवारी सम्हालेपछि ५० वर्षदेखि निर्माणको लागि आवाज उठिरहेको माइधार–दोमुखा सडक निर्माण गरेका छन् । उनले दोमुखालाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लगानी समेत गरिरहेको अध्यक्ष लावतीको भनाई छ ।