विद्यार्थीको मनोवल बढाऔं
सम्पादकीय
विद्यालय तथा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीले विद्युतीय मोटरसाइकल निर्माण गरी प्रयोग गरेका समाचार सार्वजनिक भइरहेका छन् । झापाका निजी तथा सरकारी विद्यालयका विद्यार्थीले पेट्रोलियम पदार्थबाट चलिरहेका मोटरसाइकललाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिने बनाएर प्रयोगमा ल्याएको समाचार गत साता सार्वजनिक भयो । एउटा बिर्तामोडको इकोम कलेजका विद्यार्थी र अरु चाहिँ राष्ट्रिय रमणीय मावि दूधेका विद्यार्थी थिए । उनीहरूले मोटरसाइकलमा नयाँ प्रयोग गर्न खोजे । पेट्रोलियम पदार्थबाट मोटरसाइकल सञ्चालन भइरहेका बेला त्यसलाई विद्युतीय ढङ्गबाट समेत चलाउन सकिन्छ भन्ने एउटा उदाहरण उनीहरुले प्रस्तुत गरेका छन् । हुन त, बिजुलीको माध्यमबाट चल्ने मोटरसाइकल सञ्चालनमा नभएका पनि होइनन् । बदलिदो विश्व परिवेशमा विद्युतीय मोटरसाइकल सञ्चालनमा आइसकेका छन् । आम उपभोक्ता माझ यसको प्रयोग बढ्दै पनि गएको छ । आफ्नो अनुकूलताका आधारमा उपभोक्ताले विद्युतीय मोटरसाइकल प्रयोग गरिरहेका छन् ।
ठूला उत्पादक कम्पनी वा लगानीकर्ताले विद्युतीय मोटरसाइकल जसरी निर्माण गरिरहेका छन्, उनीहरूको तुलनामा विद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीले आफ्नै श्रम, सीप, मेहनत र सानो लगानीको माध्यमबाट गरिरहेको प्रयोग आफैँमा सकारात्मक र प्रशंसनीय छ । नविनतम खोजी र प्रयोगमा विद्यार्थीले आफूलाई जसरी समर्पित गरेका छन्, त्यसबाट सकारात्मक परिणाम प्राप्त भएको छ । यसलाई केवल विद्यालय वा क्याम्पसका विद्यार्थीको प्रयोग र उपलब्धिका रूपमा मात्रै हेरिनु हुँदैन । विद्यार्थी प्रतिभा यसरी प्रस्फुटित भइरहेको छ, जसलाई अवसरको खाँचो छ । थप प्रेरणा र प्रोत्साहन दिन सक्ने हो भने विद्यार्थीले नयाँ आविष्कार र प्रयोगमा आफूलाई अब्वल साबित गर्न सक्छन् भन्ने उदाहरण विद्युतीय मोटरसाइकल निर्माणले देखाएको छ । विद्यार्थी प्रतिभाको कदर गर्दै उनीहरूको खोज अनुसन्धान, आविष्कार र निर्माणमा विद्यालय, सामाजिक संघसंस्था र स्थानीय सरकारले स्रोतको खोजी र व्यवस्थापन गरिदिन जरुरी देखिएको छ ।
सबैमा प्रतिभा हुँदैन । प्रतिभा भएका सबैले आफूलाई अब्बल साबित गर्न पनि सक्दैनन् । स्रोत साधन र लगानीको अभावमा प्रतिभा भएकाहरु पनि सीमित घेरामा खुम्चिएको हामीले देखे सुनेकै छौँ । स्रोत साधनको व्यवस्थापन गर्न नसक्दा अपेक्षा अनुसार परिणाम प्राप्त हुन नसकेका कैयौँ घटना परिघटना हाम्रै वरिपरि छन् । यी सबै परिस्थितिलाई विचार गर्दै, सीप तथा क्षमता भएका विद्यार्थीको मनोबल बढाउने तर्फ राज्यका निकायहरूको ध्यान जान सक्नुपर्छ । भएका विद्यार्थी प्रतिभाहरूको संरक्षण गर्ने, उनीहरुलाई अगाडि बढ्न प्रेरित र प्रोत्साहित गर्ने, नयाँ नयाँ प्रतिभा जन्माउने वा खोजी गर्ने काममा स्थानीय सरकारहरूको अग्रसरता देखिनुपर्छ । विद्यार्थीका लागि केवल अवसरको खाँचो छ । अवसर पाउने बित्तिकै उनीहरुले आफूलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सक्छन् । यसर्थ, आफ्नो ठाउँबाट उनीहरूको मनोबल बढाउने काममा सबै सचेत नागरिकको भूमिका उत्तिकै जिम्मेवार र महत्वपूर्ण हुन्छ ।