बैशाख २०, २०८२ शनिबार

प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

प्रमुख अतिथि एवं संस्थाका दाता युवराज प्रसाईले २३ वटा माटोका दियो बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष दिपेन्द्र काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सोही अवसरमा संस्थाका अपाङ्गता सदस्यहरु तारा श्रेष्ठ ,मनिक गिरी ,ठाकुरसिंह गुरुङ ,सबिन डाँगी,सोम बहादुर विक ,अर्जुन बहादुर समाल, वीर बहादुर राई, हरि प्रसाद चिमरिया, इन्द्रबहादुर डाँगी,बिशाल राई,तिलक ढुंगाना ,थर्के धिमाल ,राम भारती ,माया निरौला ,पवित्रा विश्वकर्मा ,अनिश सुवेदी ,दल बहादुर कार्की र सूर्य बहादुर श्रेष्ठलाई सामग्री (इलेक्ट्रीक जग) वितरण गरिएको थियो ।

त्यस्तै प्रमुख अतिथि प्रसाई, दाताहरु पदम बहादुर मगर,निर्मला रिमाल ,कविता समाल, संचारकर्मीहरु इन्द्रकुमार राई, चतुर्भुज काफ्ले र दिपक ढुंगानालाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैबीच स्थानीय निर्मला रिमालले नगद ५ हजार रुपैयाँ अक्षयकोषका लागि संस्थालाई सहयोग गरेकी थिइन् । संस्थाले १० लाख रुपैयाँ पु¥याउने लक्ष्य राखी स्थापना गरेको अक्षयकोषमा यसअघि ७ लाख रुपैयाँ जम्मा भइसकेको व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।

उक्त कोषबाट उठेको व्याज रकमले अपाङ्गता सदस्यहरुका लागि खर्च गरिने बताइएको छ । संस्थाका अध्यक्ष डिल्ली बहादुर घोर्साइँको सभापतित्व र व्यवस्थापक कुँवरले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाईले शुभकामना मन्तव्य राख्दै नगर बाहिर र भित्र धेरै सहकारी संस्था छ ।

अपाङ्गहरुका लागि केही गर्नुपर्छ भन्ने अवधारणा राखी सञ्चालन गरिएको एक मात्र यस प्रज्वला अपाङ्ग सहकारी संस्था रहेको उनले बताए । उनले भने – हामी सपाङ्ग भएर पनि केही गर्न सक्दैनौं बरु अपाङ्गता भएकाले नै गरेर देखाएका छन् । कार्यक्रममा दाताद्वय पदमबहादुर मगर, निर्मला रिमाल, संस्थाका रञ्जना कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । वि.स . २०५८ साल फागुन २ गते संस्था स्थापना भएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]