बैशाख १९, २०८२ शुक्रबार

पत्रकार निरौलासहित कनकाई माविको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

कनकाई । झापाको कनकाई –३ सुरुङ्गास्थित कनकाई माविले ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

पत्रकार रामप्रसाद निरौलासहित विद्यालयका पूर्व प्रधानाध्यापक एवं वर्तमान कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तीलचन्द्र उप्रेती, वर्तमान सहायक प्रधानाध्यापक एवं कनकाई खबरका सल्लाहकार सम्पादक तीर्थराज खरेल समेत सम्मानित भएका हुन् ।

कार्यक्रमकै अवसरमा सेवा निवृत्त शिक्षक गंगाराम खतिवडा, शिक्षकहरु चन्द्रविनोद कोइराला, बन्दना गुरागाईं, हेमन्तीका उप्रेती, लक्ष्मीकान्त कर्ण, गोपाल तामाङ, प्राथमिक शिक्षक जीवेन्द्र घिमिरे र युञ्छोक कन्दङ्वा र कर्मचारी राजु पाठकलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले जानकारी दिए ।
संचारको माध्यमबाट विद्यालयको शैक्षिक उन्नयनमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइनसहित कनकाई खबर साप्ताहिकका सम्पादक÷प्रकाशक निरौलालाई सम्मान गरिएको हो ।

विद्यालयमा अक्षयकोष स्थापना गरेर गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने अक्षयकोष दातालाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसहित विद्यालयमा स्थापित अक्षयकोषबाट उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

सम्मानित एवं पुरस्कृत हुने सबैलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य झापा क्षेत्र नं. ४ का सांसद लालप्रसाद साँवा (एलपी) तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, प्रधानाध्यपक कर्णवहादुर डाँगीले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय सांसद साँवाले कनकाई माविको भौतिक र शैक्षिक उन्नतिका लागि आफ्नो तर्फबाट थप सहयोग गर्ने प्रतिवद्धता जनाए । कनकाई माविको वर्तमान शैक्षिक अवस्थाको प्रशंसा गर्दै सांसद साँवाले विद्यालयको थप सफलताको कामना गरे ।

कार्यक्रममा विद्यालयको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँले विद्यालयको भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै प्रधानाध्यापक कर्णबहादुर डाँगीले समेत विद्यालयको विगत, वर्तमान र भावी योजना सहित विविध पक्षलाई समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रधानाध्यापक डाँँगीले आवश्यकीय कक्षा कोठाको अभावले बिहानी र दिवा सत्रमा विद्यालय सञ्चालन गर्नु परेको बाध्यता रहेको बताए । हाल कनकाई माविमा ८८ जना शिक्षक कर्मचारीले कार्य गरिरहे पनि सरकारबाट ५१ जना मात्रै दरबन्दी प्राप्त भएको भन्दै प्रधानाध्यापक डाँगीले विद्यालय सञ्चालनमा समस्या रहेको बताए । हाल विद्यालयमा २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै प्रधानाध्यापक डाँगीले सरकारले आवश्यक दरबन्दी दिएको खण्डमा केहि बर्षभित्रै विद्यार्थीको संख्या बढेर ५ हजारसम्म पुग्न सक्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सदस्य तथा पूर्व मन्त्री हिराकुमार थापा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवेन्द्रबहादुर मल्ल, नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, नगर शिक्षा समिति सदस्य नवलकिशोर दत्त, शिक्षक अभिभावक संघका अध्यक्ष खगमाया चापागाईं, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, नेकपा एमाले कनकाई नगर अध्यक्ष गोकर्ण ओझा, विद्यालयका सल्लाहकार दुर्गाप्रसाद प्रसाईं, आदर्श विद्या मन्दिर मावि व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीले योगअभ्यासको सुर्य नमस्कार सहित डमेल प्रस्तुती साथै पिटी प्रदर्शनका साथमा स्काउटबाट सलामी अर्पण गरेका थिए । सोही अवसरमा विद्यार्थीहरुले विभिन्न जातजातीलाई समेटिएको भेषभुषा सहितको साँस्कृति प्रस्तुती, फेसन शो, नृत्य, नाटक प्रदर्शन लगायतका प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विज्ञान शिक्षक बिमला अधिकारी, नर्स ऋतु सोडारी, स्वास्थ्य शिक्षक वन्दना गुरागाईं लगायतको नेतृत्वमा पोषण तथा स्वास्थ्य प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुद्वारा विभिन्न विज्ञान प्रदर्शनी तथा खाद्य स्टलहरु समेत राखिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको उद्घघाटनका अवसरमा विद्यालयका विद्यार्थीहरुबाटै स्वस्ती वाचन गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेल शिक्षकहरु भीमप्रसाद दाहाल, हेमन्तिका उप्रेती, सङ्गीता उप्रेती, टीकाराम चिमरियाले संयुक्त रुपमा विभिन्न विधाका कार्यक्रमहरु संचालन गरेका थिए ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  १२ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]