बैशाख २०, २०८२ शनिबार

क्यान्सर बुझाइदेऊ

सम्पादकीय
झापामा क्यान्सर सम्मेलन चलिरहेको छ । पूर्वाञ्चल क्यान्सर सम्मेलन २०२५ मा सार्क राष्ट्रका क्यान्सर विशेषज्ञहरु सहभागी छन् । क्यान्सर रोगको उपचार सेवामा भइरहेको प्रगति र आगामी दिनमा गर्न सकिने कामहरुका बारेमा सम्मेलनले दिशानिर्देश गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । विएण्डसी अस्पताल समेतको सहयोगमा आयोजना गरिएको क्यान्सर सम्मेलनलाई डाक्टरहरु भेला मात्र होइन, क्यान्सरप्रति आम नागरिकको भ्रमलाई समेत चिरेर जान सफल हुनुपर्छ । क्यान्सर रोगसँग आम नागरिकलाई ठुलो डर छ । क्यान्सर भनेको मृत्यू हो भन्ने आम बुझाई सत्य हो वा होइन डाक्टरहरुले यस सम्बन्धमा स्पष्ट बनाउनुपर्छ ।

पूर्व नेपालमा पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण भएपछि यसले नागरिकको जीवनमा ठुलो सहयोग पुगेको छ । क्यान्सर उपचारका लागि देश बाहिर नै जानुपर्ने बाध्यतालाई अधिकतम हल गरेको छ । अहिले नेपालभित्र मात्र होइन, नेपाल बाहिरबाट पनि उपचार गर्न आउन थालिएको छ । क्यान्सरको त्रासले नागरिकको आर्थिक एवम् सामाजिक जीवनमा ठुलो क्षति गरिरहेको हुन्छ । यस रोगका बारेमा क्यान्सर विशेषज्ञहरु, क्यान्सरको क्षेत्रका कार्यरत स्वास्थ्य संघ संस्थाहरुले नागरिकमा जनचेतना फैलाउन जरुरी छ । क्यान्सर रोग साँच्चै ठुलै समस्या हो ? मृत्यू हो ? आम नागरिकलाई बुझाउन जरुरी छ ।

सार्क राष्ट्रबाट सहभागी डाक्टरहरुसहितको सम्मेलनमा उपचारका आयामहरुमा पर्याप्त छफलफ अवश्य नै हुने छ । यो सम्मेलनले आम नागरिकका क्यान्सर बारे फैल्याइएको भ्रमहरुलाई चिर्न सोही अनुसारको अभियान सञ्चालन गर्ने संकल्प पारित गर्नुपर्छ । विगतमा देखिएको क्यान्सर र आज देखिरहेको क्यान्सरका भिन्नताहरु बारे व्यापक चर्चा गर्ने सम्मेलनले क्यान्सर संक्रमणबाट टाढा रहन नागरिकहरुले गर्नुपर्ने र अपनाउनुपर्ने उपायहरु थाहा दिनुपर्छ । कतिपय डाक्टरहरुले क्यान्सर अन्य रोग जस्तै सामान्य भएको धारणा राख्ने गर्छन् । तर, क्यान्सर लाग्नु भनेको जीवनको अन्त्य हो भन्ने बुझाई विकास भइरहेको छ । क्यान्सर बारे आम नागरिकलाई थाहा दिन अब ढिलो गर्न हुदैन ।

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार  १० : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]