‘महिला फुटबल खेलाडीलाई परिवारको साथ चाहिन्छ’
बिर्तामोड । झापामा आज अन्तरपालिका महिला फुटबलको फाइनल खेल हुदैछ । फाइनलमा उपाधिका लागि अर्जुनधारा र कनकाई नगरपालिकाको महिला टिमबीच प्रतिष्पर्धा हुन गइरहेको छ ।
बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तरपालिका महिला फुटबलप्रति खेलप्रेमीहरुले प्रशंसा व्यक्त गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । अन्तरपालिका स्तरीय फुटवल प्रतियोगितालाई प्राथमिकता दिएर सभामुख घिमिरेले झापा आएर उद्घाटन गरेर फर्किनु भएको थियो । उपसभामुख इन्दिरा थापा मगर समेत प्रतियोगितामा सहभागी भइसक्नु भएको छ ।
फुटबल क्षेत्रका अगुवाहरुको हरेक दिन सहभागिता भइरहेको प्रतियोगितामा दर्शकहरुलाई निशुल्क प्रवेश दिइएको छ । निशुल्क प्रवेश दिइए पनि अन्य गोल्डकप जस्तो सहभागिता हुन सकिरहेको छैन । झापामा हुने अन्य फुटवलहरुमा भरिभराउ हुने रंगशालामा महिला फुटवललाई दर्शकहरुले साथ दिइरहेका छैनन् । आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिले दर्शकहरुको सहजताका लागि सुरुदेखि निशुल्क प्रवेशको व्यवस्था मिलाएको थियो ।
बिर्तामोड नगरपालिकाले जिल्ला मै पहिलो पटक ३४ लाख लगानी गरेर फुटवलको आयोजना गरेको हो । महिला नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिला फुटवलका लागि साथ दिएकै कारण प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष विकास गिरीको धारणा छ । नगर प्रमुखकै प्रोत्साहन र साथले गर्दा प्रतियोगिता संभव भएको हो, गिरीले भने – प्रथम अन्तरपालिका महिला फुटवल सफल भएको छ ।
झापामा भएको अन्तरपालिका महिला फुटवलले जिल्लाका खेलाडीहरुमा रामै्र आकर्षण पाइएको अधिकांशको भनाई छ । महिलाहरुले फुटवलमा देखाएको आकर्षणलाई संरक्षण गरेर जानुपर्ने कनकाईका प्रशिक्षक सन्तोष रायमाझीको बताउछन् । रायमाझीले कनकाई नगरपालिकाले महिला फुटवलका लागि असाध्यै राम्रो सहयोग गरिरहेको जानकारी दिएका छन् । नगर प्रमुख राजेन्द्र पोखरेलले महिला फुटवलको विकासका लागि बजेटकै व्यवस्था गरिदिएको रायमाझीले सुनाए । कनकाईले मात्र गरेर हुदैन, उनी भन्छन् – झापाका सबै स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका महिला फुटवल खेलाडीहरुलाई सहयोग गर्नुपर्छ । नयाँ खेलाडी उत्पादन र खेलिरहेका खेलाडीको संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।
अर्जुनधारा नगरपालिकाको टिम क्याप्टेन जेनिफर रानामगरले महिला फुटवल क्षेत्रको विकासमा सबैको सहयोग जरुरी रहेको बताइन् । उनले महिला फुटवलको लागि सर्वप्रथम परिवारको साथ चाहिने बताएकी छन् । महिला खेलाडीहरुलाई खेल्नका लागि परिवारको साथ अनिवार्य भएको उनको भनाई छ ।
क्याप्टेन रानामगरले महिला र पुरुषको फुटवलमा विभेद गर्न नहुने तर्क राखेकी छन् । महिला फुटवलको विकास गर्ने हो भने विभेद हुनुहुदैन, उनले थपिन – महिला र पुरुषको फुटवल प्रतियोगितामा दर्शकको सहभागिता नै फरक पर्छ । दर्शकको सहभागिता मात्र होइन, पुरस्कारमा पनि फरक पर्ने जेनिफरको दावी छ । पुरुषको फुटवलमा च्याम्पियनको राशी र महिलाको राशीमा धेरै लाख फरक पर्ने गरेको छ ।
आज हुने फाइनल खेलमा अर्जुनधारा र कनकाईको टिम क्याप्टेनहरुले उपाधि जित्ने दावी गरेका छन् । दुवै टिमले दावी गरेको उपाधिका लागि कडा प्रतिष्पर्धा गर्ने भएका छन् ।