चारआली म्युजिक फेस्ट – २०२५ को तयारी पूरा
चारआली । झापाको चारआलीमा हुन लागेको ‘चारआली म्युजिक फेस्ट– २०२५’ को तयारी पूरा भएको छ ।
बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा हुने लागेको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
कार्यक्रमस्थलमा आज पत्रकार सम्मेलनको आयोजना गरी बज्र इभेन्टले तयारी पूरा भएको जनाएको हो । चारआली म्युजिक फेस्टका फोकल पर्सन मनिष आयोजक कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको बताउनुभयो ।
उक्त सांगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्सको प्रस्तुति रहनेछ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् । झापाको बिर्तामोड, धुलाबारी, चारआली, चन्द्रगढी लगायतका स्थानबाट टिकट धमाधम बिक्री भइरहेको आयोजकले जनाएको छ । करिब आठ हजार दर्शकलाई मनोरञ्जन दिने लक्ष्य रहेकोमा हालसम्म अनलाइन र टिकट बिक्री केन्द्रबाट तीन हजार आठ सय टिकट बिक्री भइसकेको जनाइएको छ । टिकट दर विभिन्न चार तहमा पाँच सय, एक हजार, तीन हजार ५०० र २५ हजार रुपैयाँ रहेको छ ।
सुरक्षा व्यवस्था मजबुद बनाउन ५० स्थानमा सीसी क्यामेरा, एक सय जना सेक्युरिटी गार्ड र एक सय ५० जना स्वयम् सेवक परिचालन हुने जनाइएको छ । पत्रकार सम्मेलनमा बज्र इभेन्टका अध्यक्ष फूर्वा लामा, सिईओ आकाश तामाङ, लागुऔषधविरुद्धका अभियन्ता सञ्जिव थापा, बसन्त लिम्बू लगायतले कार्यक्रमका विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।