नवदुर्गा आविले मनायो ४१ औं वार्षिकोत्सव
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित नवदुर्गा आधारभूत विद्यालयको ४१ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देनले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तोया ओलीले मन्तव्यसहित बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक, भौतिक गतिविधि, समस्याहरु समेटिएको छ । विद्यालयमा शौचालयको अभाव ,भवनको जस्तापाता ( टिन ) को छानो पानी पर्दा चुहिने भएकोले बाल्टिन थाप्ने अवस्था रहेको उल्लेख छ । आजको आवश्यकता शिक्षा र स्वास्थ्य हो । विद्यालय प्रभावकारी बनाउन शिक्षकहरुको मात्र केहि नचल्ने भएकोले यसमा अभिभावकहरुको भूमिका हुनुपर्छ । विद्यालयमा विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरिने व्यवस्था मिलाइएकोछ ।
सोही अवसरमा विद्यालयबाट अवकाश प्राप्त प्रधानाध्यापक रुद्रप्रसाद खतिवडा र सरुवा हुने सहायक प्रधानाध्यापक चूडाकर्ण घिमिरेलाई सम्मानसहित कदर –पत्र र मायाको चिनो प्रदान गरि विदाई गरिएको थियोे । त्यसैबीच बर्ष उत्कृष्ट शिक्षकका रुपमा कुमारी भण्डारी, उत्कृष्ट अभिभावक दिया कुँवर र पूर्व शिक्षकहरु बबिता नेपाल र सुमन कटुवाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
दीर्घसेवाबाट विदाई हुने शुशिला भट्टराईलाई कदरपत्रसहित सम्मान गरिएको थियो । सो अवसरमा स्थानीय रेशम बहादुर खत्रीले स्व . मातापिताको स्मृतिमा विद्यालयको शैक्षिक व्यवस्थापनका ५१ हजार १ सय ५१ रुपैयाँको चेक अक्षयकोष स्थापना गर्न विद्यालय व्यवस्थापन समितिका रुद्र बहादुर पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार दिनेश भारतीले आकाशैमा चील होइन बेसार, दुई दिन मायालाई दिऊन् , केछर भन्ने गीत प्रस्तुत गरेका थिए ।
साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा विद्यार्थी बर्षा बुढाथोकी र साथीहरूले स्वागत नृत्य , ब्रोरिङ कटुवाल र साथीहरूले आँखैमा राख्छु मेरो देश भन्ने राष्ट्रिय गीत, रक्षा न्यौपाने र साथीहरूले भगवान शिवको लोकप्रीय ताण्डव नृत्य ,लक्ष्मी नेपाल र साथीहरूले लोपोन्मुख थारु नृत्य, रुबिका कट्टेल र साथीहरूले साकेला नृत्य प्रस्तुत गरेका थिए ।
यसअघि विद्यार्थीहरुले खेलमैदानमा पीटी र मार्च पास प्रदर्शन गरेका थिए । विद्यालय व्यवस्थापनका अध्यक्ष पौडेलको सभापतित्व र शिक्षक माया गौतमले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देनले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना मन्तव्य राख्दै यस विद्यालयका विद्यार्थीहरुको प्रतिभा हेर्दा निजी विद्यालयहरु भन्दा कम नभएको बताए ।
पढाई साथै विद्यार्थीहरुलाई अनिवार्य अतिरिक्त क्रियाकलाप आवश्यक रहेको उनको धारणा थियो । विद्यार्थीहरु कुन विधा निपुर्ण छन् । उनीहरुको रुचि बुझेर त्यस विधामा लगाउनु पर्ने उनले शिक्षक र अभिभावकहरुलाई सुझाव दिए । विद्यार्थीहरु अनुशासित बन्न संस्कार र संस्कृति हुनुपर्ने बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिका शिक्षा शाखाका प्रमुख हरि बहादुर कुँवर, भानु माविका प्रधानाध्यापक रुपक दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने शिक्षक चित्रकला दवाडीले नेपाली र विद्यार्थी अनु खतिवडाले अंग्रेजी भाषाबाट स्वागत मन्तव्य राखेका थिए । वि.स. २०३९ साल फागुन ७ गते स्थापना भएको बताइएको छ ।