बैशाख २४, २०८२ बुधबार

टोल विकासको उजुरीपछि बिर्तामोडको डान्सबारमा अनुगमन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको न्यू एभरेष्ट होटल एण्ड नाइट बारले शान्ति सुरक्षामा खलल् पुराएको भन्दै शुभ नगर टोल विकास संस्थाले होटल खारेजीको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिदैं टोल विकास संस्थाले खारेजीको माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आवश्यक कारबाहीको लागि पत्र लेखेको छ । सो पत्रका आधारमा बिहीवार बिर्तामोड वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, प्रहरी र टोल विकासका प्रतिनिधिहरु होटल पुगेर अनुगमन गरेका छन् । सार्वजनिक शान्ति सुव्यवस्थामा असर पार्ने गरी रातभर नाइट बार सञ्चालन गरेको उजुरी पछि होटलको अनुगमन गरिएको वडाध्यक्ष शर्माले जानकारी दिए । होटलको सन्दर्भमा शुभनगर टोल बिर्तामोड १ ले उजुरी गरेको थियो ।

सोही उजुरीका आधारमा होटल अनुगमन गर्दै वडाध्यक्ष शर्माले आवश्यक कागजात ल्याएर वडामा हाजिर हुन आग्रह गरेका छन् । स्थानीयले रातभर डान्स सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने र स्थानीवासीलाई त्रसित बनाउने गरेको आरोप लगाएका छन् । स्थानीयका अनुसार एभरेष्ट होटलको नाममा दर्ता रहे पनि डान्सबार चलाउने गरिएको छ । वडाध्यक्ष शर्माले रातभर डान्स चलाउन मिल्ने अनुमति कागज फेला नपरेको जानकारी दिए ।

होटल सञ्चालक भरत राजवंशीले मदिरा विक्री वितरण गर्ने अन्तशुल्कको कागजात, एभरेष्ट होटल दर्ता भएको कागजात देखाएको वडाध्यक्ष शर्माको भनाई छ । वडाध्यक्ष शर्माले भने, डान्सवार चलाउने अनुमति लिएको कागज लिएर वडामा आउन भनिएको छ । आवश्यक कागजात लिएर आएपछि थप प्रक्रिया अघि बढाइने शर्माले जानकारी दिए । कागजात लिएर नआएसम्मका लागि होटल बन्द गर्न भनिएको छ, उनले थपे ।

समाजलाई नै अशान्त बनाइरहेको भन्दै सञ्चालकलाई पटक–पटक सम्झाई बुझाई गर्दा समेत अटेर गरेपछि पुनः होटल दर्ता खारेजीको माग अघि सारिएको टोल विकासका अध्यक्ष अजित कुमार कटुवालले जानकारी दिए । होटलमा झैझगडा गर्ने र स्थानीयवासीलाई दुख दिने गरेको गुनासो छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]