गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरामा समय नखर्चन सिटौलाको आग्रह
झापा – नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय नखर्चन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको आयोजनामा विहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले दुःख मात्रै पाएको र अब पनि त्यो ब्यवस्था स्वीकार नगर्ने दावी गर्नुभयो ।
आवश्यकताको आधारमा संविधान संसोधन हुने र देश अघि बढ्ने उहाँको भनाई छ । ‘सबैको हित हुने ब्यवस्था भनेकै लोकतान्त्रिक ब्यवस्था हो’– नेता सिटौलाले भन्नुभयो–‘लोकतन्त्र देश र जनताको समृद्धिका लागि ल्याइएको हो । जनताले यही सोचेर कठोर संघर्षमा साथ दिएका हुन् ।’
पार्टीका सबै नेता कार्यकर्तालाई आपसी मेलमिलाप र सहकार्यका साथ अघि बढ्न आह्वान गर्नु भएका नेता सिटौलाले एकतामा मात्रै बलियो शक्ति बन्न सकिने स्पष्ट पार्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको क्रियाशिल सदस्यता नवीकरण कार्यलाई तीव्रता दिन तहगत समितिलाई आग्रह गर्दै आगामी फागुन मसान्तसम्ममा जिल्लामा बुझाइसक्न आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला र मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायतले मन्तब्य राख्नुभएको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रमेश राई र सञ्चालन होम दुलालले गर्नुभएको सूचना तथा प्रचार–प्रसार विभाग संयोजक रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।