बैशाख २०, २०८२ शनिबार

मेची रंगशालामा फागुन २३ गतेदेखि १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

झापा । मेची रंगशाला भद्रपुरमा यही फागुन २३ गतेदेखि झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदैछ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको समितिका अध्यक्ष (भेषराज भण्डारी) प्रशान्तले जानकारी दिए ।

उनका अनुसार यही फागुन २३, २४ र २५ गते मेची रंगशालामा हुने प्रतियोगितामा झापाका १५ वटै पालिकाका विद्यालयहरूबाट प्रतिस्पर्धा गरी छनोट भएका माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका खेलाडीहरूले ६ वटा विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष एथलेटिक्स (छात्ररछात्रा), भलिबल (छात्ररछात्रा), कबड्डी (छात्र र छात्रा), कराते (छात्र र छात्रा), तेक्वान्दो (छात्र र छात्रा) र उसु (छात्र र छात्रा) खेल हुने उनले बताए ।

प्रत्येक टिममा ६ विधाका करिब १२५ जना खेलाडी तथा अफिसियल गरी करिब दुई हजार जनाको जमघट रंगशालामा रहने कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्डमा सामेल नभए पनि जिल्लामा उल्लेख्य खेलाडी रहेको आईटीएफ तेक्वान्दोको पनि प्रतियोगितात्मक प्रतिस्पर्धा रहने जनाइएको छ ।

प्रतियोगिताका लागि खेलको विधा अनुसार रंगशालालाई व्यवस्थित बनाइएको नेम्बाङले बताए । यसअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुनधारामा गराइएको थियो ।

प्रतियोगिताबाट विजेता खेलाडीहरू छनोट भई जिल्लाको टिम बन्नेछ । करिब १२५ जनाको छनोट टिम कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी बन्ने समितिका प्रवक्ता जगण कार्कीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यद्यपि, सम्बन्धित निकायहरूबाट हाल सम्म कुनै पनि बजेट प्राप्त नभइसकेको कार्यालयले जनाएको छ ।

अहिले बजेट नआएपनि उद्योगी–व्यवसायी, खेलकुद प्रेमी, दाताहरूसँग सहयोग जुटाएर प्रतियोगिता गर्ने अठोट लिइएको अध्यक्ष भण्डारीले बताए । ‘राष्ट्रपति रनिङ शिल्ड नेपाली खेलकुदको मुहान हो, यहीँबाट राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने हो’, भण्डारीले भने– ‘त्यसैले जसरी पनि यो प्रतियोगिता सम्पन्न गर्नुपर्छ भन्ने हामीले आँट गरेका छौँ, यसका लागि सबैको साथ–सहयोग प्राप्त हुने विश्वास पनि लिएका छौँ ।’

यो प्रतियोगिताकै अवसर पारेर खेलाडी वा प्राविधिकको रुमा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका तर आर्थिक अवस्था कमजोर रहेका व्यक्तित्वहरूलाई सम्मान गर्ने योजना रहेको अध्यक्ष भण्डारीको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]