जेष्ठ ८, २०८२ बुधबार

एथ्लेटिक्समा अर्जुनधारा अगाडि

भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ ।

भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलहरू सकिँदा एथ्लेटिक्सतर्फ अर्जुनधारा नगरपालिका अगाडि रहेको छ । एथ्लेटिक्सको अधिकांश नतिजा सार्वजनिक हुँदा अर्जुनधारा ८ वटा पदकसहित अग्रस्थानमा रहेको एथ्लेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिए ।

प्रतियोगितामा एथ्लेटिक्स विधाअन्तर्गत दौड, सटपुट, ज्याभलिन, लङजम्प र ट्रिपलजम्पका खेल समावेश छन् । एथ्लेटिक्सतर्फ मेचीनगर नगरपालिका र दमक नगरपालिकाले समान सात पदक प्राप्त गरेका छन् भने कमल गाउँपालिकाले ६ वटा पदक हासिल गरेको छ । त्यस्तै, शिवसताक्षीले ५, बिर्तामोड र बाह्रदशीले समान ४–४, भद्रपुर र कनकाईले समान ३–३ तथा कचनकवल, गौरीगञ्ज, हल्दिबारी र झापा गाउँपालिकाले समान २–२ पदक जितेका छन् । गौरादह नगरपालिका र बुद्धशान्ति गाउँपालिका एथ्लेटिक्समा पदकविहीन छन् । अब एथ्लेटिक्सको थोरै खेल मात्र बाँकी रहेको यादवले जानकारी दिए ।

प्रतियोगितामा भलिबल (छात्र-छात्रा), कबड्डी (छात्र-छात्रा), कराते (छात्र-छात्रा), तेक्वान्दो (छात्र-छात्रा) र उसु (छात्र-छात्रा)–का खेलहरू पनि सञ्चालन भइरहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए । प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने र र सबै विधाको अन्तिम नतिजा आइतबार नै सार्वजनिक हुने झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगण कार्की ‘दुर्वासा’ले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]