जेष्ठ ६, २०८२ सोमबार

चार वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका १६६ जनाको मृत्यु

झापा – पछिल्लो चार वर्षमा वैदेशिक रोजगारीमा गएका झापाका १६६ जनाको मृत्यु र ५४ जनाको अङ्गभङ्ग भएको सुरक्षित आप्रवासन परियोजना (सामी) ले जनाएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश गएका, फर्किएर आएका र उनीहरुको आश्रित परिवारको हितका लागि सामीले पुनःश्रम स्वीकृति, पारिवारिक स्वास्थ्य उपचार, बिरामीको अङ्गभङ्ग र मृत्यु भएकालाई आर्थिक सहायता, सन्तति छात्रवृतिलगायतमा सहयोग गरिरहेको छ ।

सामीका जिल्ला संयोजक शेखर बुढाथोकीका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ४२ जना, गत आव २०८०-०८१ मा ८० जना र आव २०७९-८० मा ४४ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको छ ।

चार वर्षमा अङगभङ्ग भएका ५४ जनामध्ये चालू आवको पुससम्ममा १० जना, गत आव २०८०र०८१ मा ३३ जना र आव २०७९र०८० मा ११ जना छन् ।

गत आव २०८०-०८१ मा झापाबाट छ हजार ५२८ जना महिलासहित ३४ हजार ३६२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । सोही आव २०८०-०८१ मा कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

मेचीनगरमा चालू आवमा ३१ वटा अभिमुखीकरण, वित्तिय साक्षरतालगायतका कार्यक्रम गरिएको छ । यस अवधिमा नगरपालिकास्थित वैदेशिक रोजगारीबाट फर्केका र उनीहरुका परिवार गरी एक हजार ६४६ जनाले सो परियोजनाको विभिन्न सेवा लिएको जनाइएको छ ।

प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]