बैशाख २०, २०८२ शनिबार

मेचीनगर गोल्डकप : उपाधिका लागि आज आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताउनुभयो ।

“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ”, प्रशिक्षक सुब्बाले भन्नुभयो, “उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।” काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघिका खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ गोलले र धरान एफसीलाई सडन डेथमा ५–४ गोलले पराजित गरेको थियो ।

चर्चब्वाइज युनाइटेडलाई यसै वर्ष झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि उचालिसकेको बलियो टोली मानिन्छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुने स्वीकार गरेता पनि आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

“जित्नलाई त जितिहालिन्छ”, उहाँले भन्नुभयो, “घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुन्छ । तर हामी उपाधिका लागि खेल्छौँ ।” उहाँले आफ्ना खेलाडी लगातारको खेलले थाकिरहेको बताउनुभयो । चर्च ब्वाइजले यसअघिको खेलमा झापा एफसीलाई सडन डेथमा ५–४ गोलले र मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले हराएको थियो ।

मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् । खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : चैत्र २, २०८१ शनिबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]