बुद्धशान्तिको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
बिर्तामोड । बुद्धशान्ति गाउँपालिका झापाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ०८० असोजदेखी निर्माण थालिएको भवन ०८२ को असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
बुद्धशान्ति गाउँ कार्यपालिकाको प्रशासनिक भवन निर्माणको जिम्मा श्री जन आदर्श निर्माण सेवा काभ्रेले लिएको छ । ६ करोड ३६ लाख २१ हजार ६९६ रुपैयाँ ९५ पैसामा निर्माण सम्झौता गरेको निर्माण सेवाले भुक्तानीमा कुनै समस्या नभए असार मसान्तभित्र सम्पन्न गर्ने कम्पनीका प्रतिनिधि गणेश बुढाथोकीले जानकारी दिए । आरसीसीको काम सम्पन्न भइसकेको बताउँदै कम्पनीका प्रतिनिधि बुढाथोकीले भने, ‘तेस्रो तलासम्मको वाल प्लष्टर सकिएको छ । फेस वालको काम सुरु भइसकेको छ ।’ कुनै प्राविधिक समस्या आइपरे थोरै समय थप गर्न सकिने निर्माण पक्षले जनाएको छ ।
बुद्धशान्ति गाउँपालिका तत्कालिन बुधबारे गाविसको भवनबाट सेवा प्रवाह गरिएको प्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । उनका अनुसार पालिकाभित्र सातै वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकको छ । कृषि, प्राविधिक, आयुर्वेद, अमिन र प्रधानमन्त्री स्वरोजगारको शाखा भाडामा सञ्चालन गर्नु परेको उनको भनाई छ । प्रवक्ता वाग्लेले प्रशासनिक भवन निर्माणको काम ७० प्रतिशत पुरा भइसकेको जानकारी दिए । अब, भवन निर्माण पुरा भएपछि भाडामा सेवा प्रदान गरिरहेका शाखाहरुले प्रशासनिक भवनबाटै सेवा उपलब्ध गराउने छन्, उनले थपे ।
सुविधा सम्पन्न भवन निर्माण पश्चात नागरिकलाई सेवा प्रदान गर्न थप सहज हुने वाग्लेले जानकारी दिए ।