बैशाख १९, २०८२ शुक्रबार

शान्ति सामुदायिक वनको ट्रयाक्टर अवैधानिक काठसहित नियन्त्रणमा

बिर्तामोड । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो ।

सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सब डिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो ।

कटान आदेश समेत नलिएको अवस्थामा रूख ढालेर ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवा संघ नेपाल अर्जुनधाराका अध्यक्ष धिरज मोक्तानले जानकारी दिए । युवा संघका अध्यक्ष मोक्तान, उपाध्यक्ष सुशील भुजेल, सहसचिव युकेश फुयाल लगायत स्थानीय उपभोक्ताहरूले सामुदायिक वनको ट्रयाक्टरलाई नियन्त्रणमा लिएका थिए ।

युवाहरूसँगै स्थानीय उपभोक्ताहरुले समेत ढलेको रुख काट्ने बहानामा नलडेको रुखलाई समेत काटेर सामुदायिक वनले अवैधानिक ढंगले काठ ढुवानी गरेको बताएका छन् । उक्त स्थलबाट साल जातको ११ थान लकडी र सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

यता, घटनास्थलमा पुगेका सब डिभिजन वन कार्यालय कन्काई सुरुङ्गाका कर्मचारी गोपाल नेपालले आफूहरुले लिखित रुपमा अनुमति नदिएको बताएका छन् । उनले सामुदायिक वनले ढले–पढेका रुख निकासीका लागि यसअघि मौखिक रूपमा मात्रै आफूले जानकारी पाएको बताए । तर घटनास्थलमा अर्को रुख समेत लडाएर मुढा निकासा गरिएको बारेमा भने आफू अनविज्ञ रहेको बताएका छन् । नेपालले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र रुख लडाएर काटिएको भएमा कानुनी प्रक्रिया अघि बढ्ने बताएका छन् ।

सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोइरालाले आफूहरुले अनुमतिको प्रक्रिया अपनाए पनि सामान्य त्रुटि भएको स्वीकार गरेका छन् । सामुदायिक वनका सचिव नरेन्द्र गौतमले रुख कटान तथा निकासीको आदेशलाई कानुनी रुपमा पुरा नगरी लकडी ढुवानी गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

अर्जुनधारा २ का जनप्रतिनिधि प्रेम उपरकोटीले सामुदायिक वनले अवैधानिक ढङ्गले मुढा निकासा गर्न खोजिएको देखिएको बताएका छन् । उनले सामुदायिक वनले काठ निकासी गर्नुभन्दा अघि सम्बन्धित वन कार्यालय, स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी नगराएको देखिएको बताए । उक्त सम्बन्धमा सबडिभिजन वन कार्यालय र प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]